Logo

देश विभाजित भइरहेको छ : राष्ट्रपति ट्रम्प



वासिङटन, जेठ ५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा रुसको संलग्नताका बारेमा भइरहेको विवादले देशलाई विभाजित बनाइरहेको टीप्पणी गरेका छन् ।

उनले रुससँग आफ्नो कुनै सम्बन्ध नरहेको दोहोर्‍याउँदै पक्ष र विपक्षमा मत विभाजन हुँदा मुलुकलाई फाइदा नहुने बताए । वासिङटनमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले उक्त आरोपको जाँच गर्न विशेष अनुसन्धानकर्ता नियुक्त गर्ने निर्णयलाई आफूले स्वागत गर्ने बताए । तर, उनले सो निर्णयप्रति असन्तुष्टी पनि व्यक्त गरेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि गत वर्ष भएको निर्वाचनमा रुसको हस्तक्षेप भएको भनिएको विषयमा छानविन गर्न संघीय जाँच विभाग (एफबीआइ)का पूर्वप्रमुख रोबर्ट मलरलाई विशेष अभियोजनकर्ताको रुपमा नियक्त गरिएको छ । मलर सन् २००१ देखि २०१३ सम्म एफबीआइका प्रमुख थिए ।

राष्ट्रपति ट्रम्पले एफबीआइका निर्देशक जेम्स कोमीलाई अघिल्लो हप्ता बर्खास्त गरेसंगै नयाँ विशेष अभियोजनकर्ताको खोजी भएको थियो ।

ट्रम्पले एफबीआइले रुसमाथि गरिरहेको छानविन प्रभावित पार्न त्यसका निर्देशक कोमीलाई बर्खास्त गरेको भन्ने आरोप पनि खण्डन गरेका छन् ।

कोमीसँग काम गर्न आपूmलाई निकै गाह्रो भएकाले उनलाई बर्खास्त गर्नुपरेको राष्ट्रपति ट्रम्पले स्पष्टीकरण दिएका छन् ।

अमेरिकाको न्याय मन्त्रालयले त्यतिबेला भएको भनिएका हस्तक्षेपबारे छानविन गर्न वर्तमान प्रशासनभन्दा बाहिरका व्यक्तिलाई जिम्मा दिनु उपयुक्त हुने ठानेर मलरलाई जिम्मेबारी दिएको अधिकारीहरुले बताएका छन् ।

मलर न्याय मन्त्रालय अन्तर्गत नै काम गर्ने गरी नियुक्त भएका हुन् । न्याय मन्त्रालय भने राष्ट्रपति ट्रम्प अन्तर्गत नै पर्ने निकाय हो । तर, मलरलाई स्वतन्त्र भनिएपनि प्राविधिकरुपमा भने राष्ट्रपति ट्रम्प अन्तर्गत नै पर्ने भनेर सांसदहरुले टिप्पणी गरिरहेका छन् । रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्

Screenshot