Logo

रगत अभाव भएपछि अस्पतालले आफँै गरें रक्तदान कार्यक्रम



भरतपुर, ५ जेठ । निर्वाचनका कारण देखाउँदै विगत दुई सातायता कुनै पनि संस्थाले रक्तदान कार्यक्रम आयोजना नगर्दा जिल्लामा रगतको अभाव देखिएको छ ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार निर्वाचनको मनोनयन दर्तासँगै सबै निर्वाचनमा जुटेपछि रक्तदान कार्यक्रमको आयोजना नहुँदा रगतको अभाव देखिएको हो ।

अस्पतालका बिरामीले रगत नपाएपछि भरतपुरको मनकामना अस्पतालले आज आफैले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । अस्पतालका सञ्चालक ध्रुव काफ्लेले आफ्नो अस्पतालमा रगत चाहिएका बिरामीले रगत नपाएपछि अस्पतालले नै रक्तदान कार्यक्रम गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो “बिरामीले रगत पाउन छोडे, मानवीय सेवा र कर्तव्य दुबै हुने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरेका हौं ।”

सो अस्पतालले सबैलाई रक्तदान गर्न आह्वान समेत गरेको छ । आज बिहान ७ बजेदेखि १० बजेसम्म रक्तदान कार्यक्रम गरिएको थियो । सो क्रममा ४१ जनाले रक्तदान गरेको अस्पतालका अध्यक्ष प्राडा अर्जुन श्रेष्ठले बताउनुभयो ।

रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख पौडेलका अनुसार जिल्लामा दैनिक एक सयदेखि १५० युनिटसम्म रगत आवश्यकपर्ने गर्दछ । गतवर्ष ३५ हजार युनिट रगत प्रयोग भएको थियो । भरतपुरमा रहेका बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीका लागि बढी रगत आवश्यकपर्ने गर्दछ भने त्यसपछि धेरै शल्यक्रिया गरेका बिरामीका लागि आवश्यकपर्ने गर्दछ ।

जिल्लामा युवाहरुद्वारा गठित “युथ फर ब्लड” समूहले रक्तदाता खोजेर रगत उपलब्ध समेत गराउँदै आएको छ । अन्य समयमा अरु जिल्लाबाट रगत ल्याएर परिपूर्ति गर्ने गरेको भए पनि यस पटक यो क्षेत्रका सबै जिल्लामा निर्वाचन भएकाले अन्यत्रबाट रगत ल्याउन नपाएको पौडेलले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot