Logo

मोटरसाइकल दुर्घटनामा म्यादी प्रहरीको मृत्यु



राजविराज, ६ जेठ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका– ११ स्थित मोहुली पुलमा मोटरसाइकल दुर्घटनामा परी आज एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको इलाका प्रहरी कार्यालय मोहुलीमा कार्यरत सप्तरीकै कृष्ण सबरण गाउँपालिका– ३ का २६ वर्षीय मीननारायण चौधरी रहेको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको चौधरी सवार ना ३३ प ४१२२ नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई मोहली पुलमा ठोकिँएको थियो । त्यस्तै मोटरसाइकल पछाडी सवार प्रहरीचौकी पकरीमा कार्यरत सप्तरी कृष्ण सबरण गाउँपालिका– १ बस्ने २३ वर्षीय म्यादी प्रहरी रगुनन्दन चौधरीसमेत गम्भीर घाइते भएका छन् ।

घाइते उहाँको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कर्यालय मोहुलीले जनाएको छ ।

सप्तरीमा बम विस्फोट

त्यसैगरी सप्तरीको बोडेबसाइनस्थित इलाका प्रशासन कार्यालय अगाडि गएराति कुकर बम विष्फोट भएको छ ।

सो विस्फोट पहिलो तल्लामा सञ्चालित कार्यालयको झ्यालको सिसा सामान्य फुटेको र ढोका तथा बालमा समेत सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीको बोधेबरसाइन् नगरपालिका– १ स्थित एक व्यक्तिको घर भाडामा लिएर सञ्चालन गरिएको सो प्रशासन कार्यालयलाई लक्षित गरी बम विस्फोट भएको स्थानीयवासीले बताएका छन् ।

त्यस्तै प्रशासन कार्यालय अगाडि रहेको रोहित साहको दुई तले घरमा समेत सामान्य क्षति पुगेको बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्