Logo

उद्योगी व्यवसायीद्धारा स्वास्थ्य मन्त्री थापाको निर्णयको प्रशंसा



काठमाडौ, ८ जेठ । नेपालमै पर्याप्त उत्पादन भएका औषधीहरु विदेशबाट आयात नगर्ने स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्णयको ठुला व्यवसायीक संगठनहरुले स्वागत गरेका छन । उनीहरुले मन्त्री थापाको निर्णय मुलुकलाई संबृद्ध बनाउन आधार र जनतालाई प्रत्यक्ष लाभ हुने निर्णय भएको पनि बताएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल औषधी उत्पादक संघ र नेपाल आयुर्वेदिक औषधी उत्पादक संघले आज काठमाडौमा संयुक्त पत्रकार सम्मेलन गरेर स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन गर्न आफुहरु पुर्ण सक्षम र प्रतिबद्ध रहेको बताएका हुन् ।

उनीहरुले नेपाल ८० प्रकारका औषधीमा आत्म निर्भर भएपनि ३० भन्दा बढी प्रकारका औधषीहरु विदेशबाट नल्याई स्वदेशकै मात्र प्रयोग गर्ने व्यवस्थाले नेपाली उद्योगहरुलाई थप जिम्मेबार र उत्साहित बनाएको बताएका छन् ।

मन्त्रालयको औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वको सुझाव समितिले बैशाख २५ गते दिएको सिफारिसका आधारमा आत्मनिर्भर हुन सकिने ३० भन्दा बढी प्रकारका औषधी विदेशबाट ल्याउन रोक लगाउने निर्णय स्वास्थ्य मन्त्री गगनकुमार थापाले वैशाख २९ गते गर्नु भएको थियो । मन्त्रीले गरेको निर्णयमा केही प्राविधिक प्रक्रिया पुरा गरेर कार्यान्वयनमा जाने मन्त्रालयले जनाएको छ ।

मन्त्री थापाले स्वदेशी औषधीहरुलाई प्राथमिकता दिदाँ औषधीको मुल्य सस्तो हुनु पर्ने, पर्याप्त गुणस्तरको हुनु पर्ने र नेपाली उद्योगहरुको सिन्डीकेट तथा एकाधिकार हुन नदिने तर्फ पनि मन्त्रालय सचेत रहेको बताउनु भयो ।

मन्त्रालयको शर्तप्रति उद्योगी व्यवासयीहरुले भने आफुहरु पुर्ण प्रतिबद्ध रहेको बताउदै देशभित्र चाहिने जति औषधी विदेशी गुणस्तर र विदेशी जत्तिकै सस्तो मुल्यमा पुर्याउन सकिने दावी गरेका छन् ।

अहिले सम्म स्वदेशी कतिपय औषधीहरु विदेशी भन्दा महंगो हुने गरेकोमा सवैतिर स्वदेशी नै प्रयोग गर्न थालेपछि खपत बढेर स्वदेशीपनि सस्तो हुने उनीहरुको भनाई छ ।

औषधी उत्पादक संघका अध्यक्ष शंकर घिमिरेले विदेशी विदेशी भन्दैमा गुणस्तर हुने र स्वदेशी गुणस्तर नहुने भन्ने मानसिकता गलत भएको बताउनु भयो । उहाँले औषधी उत्पादनका लागि विदेशमा अप्नाइने प्रविधि नै नेपालमा पनि अप्नाईने दावी गर्नुभयो ।

उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले विदेशबाट औषधी नल्याएर पनि नेपाल भित्र पर्याप्त पुर्याउन सकिन्छ भन्ने कुरा भूकम्पको बेलामा पुष्टी भएको बताउनु भयो।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारीले स्वास्थ्य मन्त्री थापाले गरेको यस्तो ऐतिहासिक र दिर्घकालिन निर्णयको स्वागत गर्न पनि कन्जुस्याई गर्नु दुर्भाग्य भएको बताउनु भयो ।

पत्रकार सम्मेलनमा नेपाल आयुर्वेदिक औषधी उत्पादक संघका अध्यक्ष विनोद पौडेलले आयुर्वेदका अधिकांश औषधीमा नेपाल आत्मनिर्भर रहेपनि अहिले सम्म प्रोत्साहन दिने काम हुन नसकीरहेका बेला अहिले भएको निर्णयले आशा जगाएको बताउनु भयो ।

औषधीको मुल्यलाई थप सस्तो बनाउन, महंगा औषधी विदेशबाट ल्याउनु पर्ने अवस्थामा सरकारले नै किनेर ल्याउने व्यवस्था गर्न र आत्मनिर्भर भएका औषधी विदेशबाट ल्याउन निषेध गर्न केहीदिन अघि मन्त्रिपरिषद्ले सार्वजनिक खरिद व्यवस्थापन कार्यालयका सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको प्रतिनिध रहने उच्च स्तरीय समिति पनि गठन गरेको छ ।

नागरिकलाई आवश्यक पर्ने महँगा औषधिलाई सरकारले सस्तोदरमा अन्तर्राष्ट्रिय बजारबाट सोझै खरिद गरी अस्पताल फार्मेसीबाट बिक्री–वितरण गर्न सक्ने व्यवस्थाका विषयमा पनि सुझाव दिने समितिको कार्यक्षेत्र तोकिएको छ ।

नेपाल सरकारको कुनै निकाय मार्फत अन्तर्राष्ट्रिय उत्पादकसँग सुपथ मूल्यमा सोझै औषधी खरिद गर्ने मन्त्रालयको योजना छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot