काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजिनामापत्र बोकेर व्यवस्थापिका–संसद भवन बानेश्वर पुगेका छन् ।
तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि संसद बैठक अहिले सूचारु हुन सकेको छैन् ।
प्रधानमन्त्री दाहालले आज विहानमात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिमण्डलका सदस्यहरुसँग सामूहिक तस्बिर खिचाएका छन् । मंगलबार विहान बसेको मन्त्रिपरिषद्को बैठक सकिएसँगै यसरी बालुवाटारमा सामूहिक तस्बिर खिचाइएको हो ।
आजै प्रचण्डले संसदलाई विशेष सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन् ।
प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर बैठकमा आउन आग्रह गरेपछि ओली बैठकमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री दाहालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘ओलीजीलाई मैले फोन गरेर बोलाएको छु, उहाँलेपनि म आउँदैछु भन्नुभएको छ, अब हेरौं।’