Logo

इँटाभट्टामा कार्यरत मजदुरका ७० बालबालिकाहरुलाई छात्रवृत्ति



भक्तपुर, १० जेठ । श्रम क्षेत्रमा रहेका बालबालिकाका लागि काम गर्दै आइरहेको संस्था बाल विकास सामाजले भक्तपुरका विभिन्न इँटाभट्टामा कार्यरत मजदुरका छोराछोरीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा समाजले भक्तपुरका विभिन्न इँटाभट्टामा कार्यरत मजदुरका ७० छोराछोरीलाई छात्रवृत्तिसँगै ब्याग, कपी, कलमलगायतका सामग्री वितरण गरेको हो । समाजले चाँगुनारायण–३, झौखेलस्थित श्री आजाद माविमा अध्ययनरत २० जना, सूर्यविनायक–८ सिपाडोलस्थित गणेश माविका २० जना, महाँकाली भक्तपुरस्थित हंशबाहिनी आधारभूत विद्यालयका १५ जना, दूधपाटीस्थित ज्ञान विजय आधारभूत विद्यालयका १५ गरी कुल ७० जनालाई शैक्षिक सामग्री वितरण गरेको समाजका भक्तपुर जिल्ला कार्यक्रम संयोजक भरत थापाले जानकारी दिनुभयो ।

सो अवसरमा सेभ द चिल्डे«नका वरिष्ठ कार्यक्रम संयोजक निलम धनुषेले आफ्ना बालबालिकालाई कुनै पनि श्रममा प्रयोग नगर्न अभिभावक वर्गसँग अनुरोध गर्नुभयो ।

कार्यक्रममा अभिभावकहरुलाई आफ्ना बालबालिकालाई कुनै पनि प्रकारको श्रममा लगाउने छैनौं भन्ने प्रतिवद्धता व्यक्त गर्न लगाइएको थियो ।

ज्ञान विजय आधारभूत विद्यालयका प्रधानाध्यापक बालकृष्ण श्रेष्ठले इँट्टाभट्टामा श्रम गर्ने कामदारका बालबालिकालाई प्रदान गरिएको शैक्षिक सामग्रीबाट उनीहरुलाई पढ्न हौसला मिल्ने बताउनुभयो ।

समाजका वरिष्ठ प्रशासक तथा वित्तीय व्यवस्थापक रामशरण रिमालले छात्रवृत्ति प्राप्त बालबालिकाका अभिभावक, शिक्षक तथा स्वयम् बालबालिकाले प्राप्त शैक्षिक सामग्रीहरुको सही सदुपयोग गर्न अनुरोध गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot