Logo

जनप्रतिनिधिको प्राथमिकता : बैंक खोल्नेदेखि अनुदान वितरणसम्म



गोरखा, ११ जेठ । स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले बैंक खोल्न पहल गर्नेदेखि निजी आवास निर्माणलाई अनुदान वितरण गर्नेसम्मका निर्णयलाई प्राथमिकतामा राख्ने योजना वनाएका छन् ।

जनप्रतिनिधिले नगरपालिका र गाउँपालिका सम्हालेका छन् । तर नियमावली नबन्दा कसरी काम अघि बढाउने भन्ने अन्योलता छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट शपथ लिएपछि जनप्रतिनिधिले पदबहाली गरेका छन् । पदबहाली गर्दा उनीहरुले पाँच वर्षे कार्यकालमा गरेर देखाउने भन्दै विभिन्न निर्णयमा हस्ताक्षर गरेका छन् ।

ऐतिहासिक गोरखा नगरीलाई विश्वसामु परिचित गराउँदै गोरखामा पर्यटक भित्र्याउने गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले पहिलो निर्णय गर्नुभएको छ ।

यस्तै उपप्रमुख बिनाकुमारी श्रेष्ठले सेवाग्राहीको घरको नक्सा तोक आदेश गरेर पदबहालीको सुरुवात गर्नुभयो । स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको मनास्लु क्षेत्रमा इन्टरनेट, टेलिफोनको पहुँच विस्तार गर्ने, गाउँपालिकामा बैंक सञ्चालनका लागि पहल गर्ने, कार्यालय व्यवस्थापन गर्ने निर्णयमा हस्ताक्षर गर्दै चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले पदबहाली गर्नुभएको हो ।

उहाँले भन्नुभयो – “चुमनुब्री गाउँपालिकामा बैंकको शाखा छैन । बैंक सञ्चालनका लागि सरकारसँग पहल गर्ने निर्णय गरियो ।” सबै वडामा टेलिफोन सेवा विस्तार र मनास्लु पदमार्गका अधिकांश क्षेत्रमा इन्टरनेट सुविधा पु¥याउने तयारी रहेको उहाँको भनाइ छ । सदरमुकामबाट चुमनुब्री गाउँपालिकाको कार्यालय सिर्दिवास पुग्न तीन दिन पैदल हिँड्नुपर्छ ।

यस्तै भीमसेन गाउँपालिकाका सबै वडामा वडा कार्यालय व्यवस्थापन गर्न आवश्यक बजेट माग गर्ने निर्णय गर्दै गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले पदबहाली गर्नुभएको छ । तत्कालै जनतालाई राहत पुग्नेखालका योजना बनाइरहेको भन्दै उहाँले गाउँकार्यपालिकाको निर्वाचन सकिएपछि ती योजना सार्वजनिक गर्ने बताउनुभयो ।

भूकम्पपीडितको लगत सङ्कलनका लागि पुनः सर्भे गर्ने र छुटेका भूकम्पपीडितलाई निजी घर निर्माणलाई अनुदान उपलब्ध गराउन पहल गर्ने निर्णय गर्दै सहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापाले पदबहाली गर्नुभएको छ । “अधिकांश पीडितले सरकारी अनुदान रकम पाएका छैनन् । पुनः सर्भे गरेर उनीहरुलाई निजी आवास अनुदान दिनुपर्छ,” थापाले भन्नुभयो ।

सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टले पदबहाली गरे पनि नयाँ निर्णयमा हस्ताक्षर भने नगरेको बताउनुभयो । गाउँ कार्यपालिकाको निर्वाचन सकिएपछि बस्ने पहिलो बैठकले आफ्नो गाउँपालिका कस्तो बनाउने भन्नेबारे केही निर्णय सार्वजनिक गर्ने उहाँको भनाइ छ ।

यस्तै सिरानचोक गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्षले पदबहाली गर्न पाएका छैनन् । भवन अभावले गर्दा पदबहाली हुन नसकेको हो । कार्यालय भवन व्यवस्थापनको काम भइरहेकाले केही दिनमा पदबहाली गर्ने अध्यक्ष राजु गुरुङले बताउनुभयो ।

नदी तथा खोलानालामा खेर गइरहेको पानी सदुपयोग गर्दै जलविद्युत्् आयोजना निर्माण गरी गाउँपालिकालाई विद्युत्भार कटौतीमुक्त बनाउँदै गरिबी न्यूनीकरण गर्ने निर्णयमा हस्ताक्षर गर्दै पदबहाली गरेको धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो । “खोलामा पानी खेर गइरहेको छ । बिजुली निकालेर गाउँको गरिबी केही मात्रामा घटाउँछौँ” – उहाँले भन्नुभयो ।

यस्तै समृद्ध पालुङटार निर्माण गर्ने योजनाका साथ अघि बढ्नुभएका पालुङ्टार नगर प्रमुख दीपकबाबु कँडेलले पुनःनिर्माणलाई तीव्रता दिने निर्णयमा हस्ताक्षर गर्दै पदबहाली गर्नुभएको कार्यकारी अधिकृत राकेश गुरुङले जानकारी दिनुभयो ।

प्रमुख र उपप्रमुख बस्ने कार्यालय व्यवस्थापन गरिसकिएको भन्दै बहालमा घर खोजेर भए पनि वडा कार्यालय सञ्चालनमा ल्याउने तयारी भइरहेको गुरुङले बताउनुभयो । पदबहाली गर्दा आफूले हस्ताक्षर गरेका निर्णयलाई तत्कालै कार्यान्वयनमा ल्याउने जनप्रतिनिधिले बताउने गरेका छन् । गोरखाका ११ स्थानीय तहले जनप्रनितिधि पाएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्