Logo

व्यावसायिक बन्दै हेटौँडा सिमेन्ट उद्योग



अच्युत रेग्मी : हेटौँडा (मकवानपुर), ११ जेठ । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेड पछिल्लो समय व्यावसायिक बन्दै गइरहेको छ ।

स्थापनाको ३१ वर्षपछि सो उद्योगले अहिले सबैभन्दा बढी सिमेन्ट उत्पादन गरिरहेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा २०३३ सालमा १३५ बिगाहा क्षेत्रफलमा स्थापना भएको हेटौँडा सिमेन्ट उद्योगले २०४३ साल मङ्सिरदेखि उत्पादन सुरु गरेको भए पनि लक्ष्य अनुसार उत्पादन गर्न सकेको थिएन ।

उद्योगका महाप्रबन्धक इन्जिनियर प्रेमशङ्कर सिंह पछिल्लो समय कम्पनीको क्षमता बराबरको सिमेन्ट उत्पादन गर्न लागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “प्रतिदिन ७५० टन उत्पादन क्षमता भए पनि अहिले ७०० टन उत्पादन गरिरहेका छौँ आगामी दिनमा त्यसलाई बढाएर शतप्रतिशत उत्पादन गर्ने सोच बनाएका छौँ ।”

उद्योग सञ्चालनका क्रममा सुरुका दिनमा चुनढुङ्गाको समस्या भए पनि अहिले मकवानपुरको भैँसे, ओखरे र धादिङको जोगीमाराबाट चुनढुङ्गा ल्याएर सिमेन्ट उत्पादन गरिरहेको छ । देशमा भएको राजनीतिक उतारचढावका कारण लामो समयदेखि धराशायी बन्दै गएको उद्योग पछिल्लो समय सरकारको सहयोग र कर्मचारीको कार्यदक्षताका कारण उत्पादन वृद्धि गर्न सकेको महाप्रबन्धक सिंह बताउनुहुन्छ ।

केही वर्षयता विद्युत्भारका कारण थोरै सिमेन्ट उत्पादन गरेको उद्योगले चालु आवको १० महिनामा एक लाख २३ हजार मेट्रिक टन क्लिङ्कर उत्पादन गरिसकेको छ । केही वर्ष अगाडिसम्म उद्योगले वार्षिक ७० देखि ८० हजारमात्र क्लिङ्कर उत्पादन गर्दै आएको थियो । महाप्रबन्धक सिंह चालु आवमा एक लाख ५० हजार मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको बताउनुहुन्छ ।

गत आवसम्म रु ८३ करोड घाटामा रहेको उद्योगले चालु आवको १० महिनामा मात्रै रु २३ करोड नाफा गरिसकेको छ भने आव २०७४÷७५ मा रु ६० करोड नाफा कमाएर ऋण तिर्नेगरी काम गरिरहेको उद्योगले जनाएको छ ।

एक सय ५८ डिलर रहेको उक्त उद्योगबाट उत्पादन भएको सिमेन्ट हेटौँडा र काठमाडौँमा बिक्री हुँदै आए पनि आगामी दिनमा बुटवल र पोखरामा समेत बिक्री वितरण गर्ने लक्ष्य छ । अहिले प्रतिबोरा भ्याटसहितको सिमेन्टको ७९५ रुपैयाँ ५२ पैसा रहेको छ ।

यसअघि उद्योगमन्त्री नवीन्द्रराज जोशीले हेटौँडा सिमेन्ट उद्योग देशकै गौरव भएकाले सरकारले विशेष सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो । उद्योगका अध्यक्ष रघुरमण न्यौपानेले पछिल्लो समय उद्योग सुखद रुपमा अगाडि बढिरहेको बताउनुभयो ।

“सरकारी उद्योग कमजोर भयो भन्ने मान्यतालाई यस उद्योगले चुनौती दिँदै अगाडि बढेको छ,” उहाँले भन्नुभयो । आगामी आवदेखि भारतको पेन्टा कम्पनीसँग सहकार्य गरेर उद्योगको क्षमता बढाउन लागेको उहाँको भनाइ थियो । अहिलेसम्म दैनिक ७५० मेट्रिक टन क्लिङ्कर उत्पादन हुँदै आएको छ । आगामी आवदेखि प्रतिदिन ९५० मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने लक्ष्य छ ।

सरकारको स्वामित्वमा रहेको अर्को सिमेन्ट उद्योग उदयपुर सिमेन्ट कारखानाको मुख्य समस्या विद्युत् भए पनि हेटौँडा सिमेन्ट कारखानामा भने विगत तीन महिनादेखि विद्युत्को समस्या छैन । उद्योगमा ६५५ जनाको दरबन्दी रहेपनि हाल ३८० कर्मचारीले काम गरिरहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्