Logo

स्थानीय तहको निर्वाचनले गाउँगाउँमा विकास पुगेको छ : मन्त्री खड्का



गोदावारी नगरपालिका वडा नम्बर ६ मा १०० घर स्थायी आवास बन्ने, मन्त्री खड्काद्धारा शिल्यान्यास
काठमाडौं, १२ जेठ । खानेपानी तथा सरसफाईराज्यमन्त्री दिपक खड्काले पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै गाउँगाउँमा विकासको लहर पुगेको बताएका छन् ।

शुक्रबार ललितपुरको गोदावारी नगरपालिका वडा नम्बर ६ मा भुकम्पपीडितहरुको लागि भुकम्परहित घर निर्माणको शिल्यान्यास गर्दै मन्त्री खड्काले पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै विकासको लहर गाउँगाउँमा पुगेको बताएका हुन् । उनले भने,‘निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो, यसले लोकतन्त्रलाई संस्थागत गरेको छ, त्यतिमात्रै नभएर निर्वाचनले विकासको ढोका समेत खोलिदिएको छ।’

मन्त्री खड्काले निर्वाचन शान्तिपूर्ण वातावरणमा भयरहित तरिकाले सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै दोस्रो चरणको निर्वाचनपनि तोकिएकै मितिमा हुने विश्वास दिलाए । उनले भने,‘जेठ ३१ गते नै दोस्रो चरणको निर्वाचनपनि हुन्छ, हामी निर्वाचनको तयारीमा छौं, सबै दलले निर्वाचनमा भाग लिनुहुन्छ।’

उनले सरकारको दायित्व नै निश्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन गर्नु भएकोेले पहिलो चरणको निर्वाचनजस्तै दोस्रो चरणको निर्वाचनपनि निश्पक्ष रुपमा सम्पन्न हुने विश्वास दिलाए ।
त्यस्तै उनले दोस्रो चरणको निर्वाचनमा व्यापक सहभागिता हुने जनाए । मन्त्री खड्काले गोदावारी नगरपालिकाको विकासको लागि आफूपनि हरहमेसा सहयोग गर्न तयार रहेको बताए ।

उनले भने,‘यहाँ खानेपानीको समस्या भए, मलाई भन्नुहोस्, म यसको लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्छु।’

कार्यक्रममा सँगै रहेका पत्रकार ऋषि धमलालाई देखाउँदै मन्त्री खड्काले भने,‘आज मैले ऋषिजीलाई सँगै लिएर आएको छु, उहाँलाई मैले गाउँको कार्यक्रममा सहभागी हुँदा आज सँगै लिएर आएको छु, उहाँले पनि गाउँको विकासको लागि धेरै काम गर्नुभएको।’ त्यस्तै उनले सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद उदयशमशेर जबरालाई देखाउँदै उनलेपनि ललितपुरको विकासको लागि उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै प्रंशसा गरे ।

मन्त्री खड्काले भुकम्पपीडितहरुको लागि प्रतिरोधात्मक आवास बनाउन सहयोग गर्ने संस्थाद्धय ओमान च्यारिटियवल अर्गानाईजेशन र भारतको ईस्टेनेबल कन्सट्रक्शन प्रा.ली.लाई धन्यवाद दिए ।

कार्यक्रममा सांसद उदयशमशेर राणाले ललितपुरको विकासको लागि आफू निकै गम्भिर रहेको उल्लेख गर्दै आगामी दिनमा समेत यस क्षेत्रको विकास र समृद्धिको लागि उतिकै जिम्मेवार भएर प्रस्तुत हुने विश्वास दिलाए । उनले गोदावारी नगरपालिका वडा नम्बर ६ मा भुकम्पपीडितहरुको लागि भुकम्पप्रतिरोधात्मक भवन बनाउन सहयोग गर्ने संस्थालाई समेत धन्यवाद दिए ।

त्यस्तै कार्यक्रममा सहयोगी संस्थाको तर्फबाट संयुक्त रुपमा अश्वानी मुन्शीले आफ्नो धारणा राखेका थिए । उनले सकेसम्म छिटोभन्दा छिटो नै आवास निर्माण गरेर हस्तान्तरण गरिने जानकारी दिए ।

त्यस्तै बतास फाउण्डेशनको तर्फबाट आनन्दराज बतासले पनि आफ्नो कुरा राख्नुभएको थियो । बतास फाउण्डेशनले यसअघिपनि भुकम्पपीडितहरुको लागि आवास निर्माण गरिसकेको छ ।

कार्यक्रममा गोदावारी नगरपालिकाका नवनिर्वाचित मेयर गजेन्द्र महर्जनले आयोजक संस्थालाई उक्त आवास निर्माण गर्न लागेकोमा धन्यवाद दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot