भक्तपुर, १२ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनाव हुँदै गरेको अहिलेको समयमा नयाँ सरकार गठन आचारसंहिता विपरीत भएको बताउनुभएको छ ।
आज भक्तपुरस्थित इवामुरा मेमोरियल अस्पतालले आयोजना गरेको नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा बोल्दै उहाँले सरकारले आचारसंहिता विपरीत नीति तथा कार्यक्रम ल्याएको आरोप लगाउनुभयो ।
अध्यक्ष बिजुक्छेले नेमकिपा नयाँ गठन हुने सरकारमा सहभागी नहुने स्पष्ट पार्दै आफ्नो पार्टी प्रतिपक्षमा बसेर जनताको हकअधिकारका लागि आवाज उठाइरहने छ भन्नुभयो ।
अध्यक्ष बिजुक्छेले नेमकिपा सङ्घीय संरचनाअनुरुप हुने सबै निर्वाचनका पक्षमा रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाकाका नवनिर्वाचित नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरलाई साँस्कृतिक नगर मात्रै नभई शिक्षा र स्वास्थ्यको केन्द्रका रुपमा समेत विकास गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उपप्रमुख रजनी जोशीलगायत नगरका १० वटा वडाका वडा अध्यक्षहरुले भक्तपुर नगरलाई समृद्ध नगर बनाउन एकजुट भएर लाग्ने बताउनुभएको थियो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुभक्त मारिकुले भक्तपुर नगरभित्र स्वास्थ्य संस्थाको विस्तारमा पनि जनप्रतिनिधिले ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो । रासस