Logo

नेपाल–भारतको सुरक्षा प्रमुखबीच बैठक



खजुरा (बाँके), १२ जेठ । यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै आज दुई देशका सुरक्षा प्रमुखबीच छलफल भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजनामा बसेको बैठकमा निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमा नाका ४८ घन्टा सिल गरिने निर्णय भएको हो । नेपाल र भारतका सुरक्षा अधिकारीको नेपालगन्जमा बसेको बैठकले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्ने गरी जमुनाह नाका ४८ घन्टा सिल गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताउनुभयो ।

प्रजिअ पन्थका अनुसार सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि दुई देशका सुरक्षा निकाय मिलेर सक्रिय भूमिका निर्वाह गर्ने, लागुऔषधको ओसारपसार नियन्त्रण गर्ने, संयुक्त सुरक्षा गस्ती गर्ने लगायतका निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा मानव बेचबिखनका विरुद्धमा पनि दुवै देशले मिलेर विशेष काम गर्ने निर्णय भएको छ । बैठकमा अवैध भारुको प्रयोग हुन सक्नेतर्फ भारतीय पक्षले कुरा उठाएका थिए भने त्यस विषयमा पनि नेपालले सहयोग गर्ने भनि प्रतिबद्धता गरेको थियो ।

सो बैठकमा नेपालकातर्फबाट बाँकेका प्रमुख जिल्ला अधिकारी पन्थसँगै बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णु थापा, दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काप्mले, भारत बहराइचका डिएम अजयदीप सिंह र श्राबस्ती जिल्लाका डिएम दीपक, मीनालगायत नेपाल–भारतका उच्च सुरक्षा निकायका अधिकारीको सहभागिता रहेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्