Logo

प्रधानमन्त्री कप क्रिकेटः पूर्वाञ्चल प्रतियोगिताबाट बाहिरियो



काठमाडौं,  १२ जेठ । राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रबीचको खेल बिनानतिजा टुंगिएको छ ।

दोस्रो इनिङ चलिरहँदा वर्षाका कारण खेल प्रभावित भएपछि बिनानतिजा टुंगिएको खेलमा दुबै टोलीले १–१ अंक प्राप्त गरेका छन् ।

सुदूरपश्चिमाञ्चलले प्रस्तुत् गरेको १५४ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरको पूर्वाञ्चलले ‘लन्च’ समयसम्म ४ ओभरमा ४ विकेट गुमाउँदै २२ रन जोडेको थियो । तर, वर्षाका कारण त्यसपछि खेल सुचारु हुन सकेन र दुबै टोली अंक बाड्न बाध्य बने ।

यो सँगै यसअघि खेलेको दुबै खेलमा पराजित भएको पूर्वाञ्चल प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणमा सबै ३ खेल खेलिसक्दा मात्र १ अंक जोडेको पूर्वाञ्चल अंकतालिकामा पुछारमा रहेको छ ।

सुदूरपश्चिमाञ्चलको २ खेलबाट १ अंक छ । प्रतियोगितामा अगाडि बढ्न सुदूरपश्चिमलाई शनिबार हुने त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीचको खेलमा त्रिभुवन आर्मी पराजित हुनुपर्ने छ भने अन्तिम खेलमा उसले आर्मीलाई हराउनैपर्ने हुन्छ ।

आफूले खेलेको एकमात्र खेलमा विजयी नतिजा हासिल गरेको आर्मी २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । ४ अंकका साथ शीर्ष स्थानमा रहेको पुलिसले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्