Logo

मोर्चालाई पनि चुनावमा सहभागी गराउन निर्वाचनको मिति सार्न कांग्रेस तयार



काठमाडौं, १३ जेठ । प्रमुख दल नेपाली काँग्रेसले यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउनको लागि हदैसम्मको लागि लचिलो हुने भएको छ ।

कांग्रेसले राजपा नेपाललाई चुनावमा सहभागि हुन आग्रह गरेको छ । राजपा चुनावमा सहभागि भए जेठ ३१ गते हुने दोस्रो तहको चुनाव सार्नपनि कांग्रेस सकारात्मक भएको बताइएको छ ।

शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा कांग्रेस र राजपाका शीर्ष नेताहरुबीचको छलफलमा कांग्रेसका नेताहरुले मधेशवादी दलको माग पूरा गराउन आफूहरु तयार रहेको बताएका थिए । उनीहरुले चुनावमा सहभागी हुनको लागि मोर्चाका शीर्ष नेताहरुलाइ तयार रहन आग्रह गरेका थिए ।

कांग्रेसले मोर्चाको माँग पुरा गराउन चुनावको मिति सार्नु परेपनि सार्ने तर चुनावमा भने सहभागि हुनुपर्नेमा जोड दिएको नेताहरुले बताएका छन् ।

‘हामीले राजपा नेपालका नेताहरुलाई चुनावमा भाग लिनुहुन्छ भने पार्टी दर्ता, हस्ताक्षर बुझाउने तथा चुनाव चिन्ह प्राप्तिका लागि ऐन संशोधन गर्न र चुनाव मिति सार्न पनि सकिन्छ, तर सविधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिन्छ,’ विमलेन्द्र निधिले भने,‘त्यसका लागि सरकारले कतिको प्रयास गरेको त्यसको बारेमा तपाईहरुलाई थाहैछ भन्यौ ।’

राजपा नेपालका अध्यक्ष राजेन्द्र महतोले चुनावमा जान आफूहरु तयार रहेको तर त्यसको लागि सरकारले वतावरण बनाउनुपर्ने बताए । सविधान संशोधन, मुद्दा फिर्ता, पार्टी दर्ता, चुनाव चिन्ह प्राप्ति, जनसंख्याको आधारमा स्थानीय तहको सँंख्या थप्नुपर्नेलगायतका माग पूरा भए आफूहरु चुनावमा भाग लिने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्