निलकण्ठ नगरपालिका वडा नम्बर ११ का निर्वाचित पदाधिकारीलाई बधाई
काठमाडौं, १३ जेठ । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुले गाउँको विकासमा जोड दिनुपर्ने बताएका छन् ।
शनिबार धादिङ् निलकण्ठ नगरपालिका वडा नम्बर ११ का निर्वाचित पदाधिकारीलाई बधाई दिने काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै धमलाले गाउँको विकासमा लाग्नुपर्ने बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धमलाले निलकण्ठ नगरपालिकालाई मुलुककै नमूना नगरपालिकाको रुपमा विकास गर्नको लागि पनि वडास्तरबाटै जनताको मन जित्ने कामहरु ह्ुनुपर्ने बताए । उनले गाउँको विकासमा विशेष ध्यान दिँदै जनताका मन जित्नेगरि काम गर्नको लागि निर्वाचित पदाधिकारीलाई सुझाए ।
त्यस्तै उनले गाउँगाउँमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका कामहरु समयमै सम्पन्न गर्नको लागि आफूलेपनि सक्दो पहल गरिरहेको जनाउँदै विशेषगरि शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारको क्षेत्रमा काम गर्न आग्रह गरे । उनले स्वयम् आफ्नो पहलमा धादिङ्मा करिब ७ करोडको परियोजना लगेका छन् । ती सबै परियोजनाहरु समयमै सम्पन्न गर्नको लागि पनि उनले सक्दो सहयोग गर्न अपिल गरे ।
कर्यक्रममा निर्वाचित वडा अध्यक्ष तिलक थापाले आफू पूर्ण रुपमा गाउँ विकासमा केन्द्रित रहेर काम गर्ने वचन दिए । उनले भने,‘म गाउँको विकासको लागि अत्यन्तै गम्भिर भएर काम गर्नेछु, अर्को कुरा हामीलाई ऋषिजीको सँधै साथ र सहयोग रहनेछ।’ उनले पत्रका धमलाको कारणलेपनि आफूहरुलाई काम गर्नको लागि विशेष उर्जा मिल्ने विश्वास दिलाए ।