Logo

बार्सिलोनाले चुम्यो कोपा डेल रे को उपाधि



काठमाडौं, १४ जेठ । बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । घरेलु मैदानमा शनिबार राति भएको फाइनलमा एलाभेसलाई ३–१ ले हराउँदै बार्सिलोनाले लगातार तेस्रो पटक कोपा डेल रेको उपाधि जितेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सी, नेइमार र पाको एलकेसरले गोल गरे ।

एलाभेसका लागि थियो हर्नान्डेजले एक गोल फर्काए । सबै गोल पहिलो हाफमा नै भएको हो । ३० औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाले अग्रता लियो । मेस्सीले यो सिजन अहिलेसम्म सबै प्रतियोगितामा गरेर ५४ गोल गरेका छन् ।

३३ औं मिनेटमा हर्नान्डेजले एलाभेसका लागि बराबरी गोल फर्काए । ४५ औं मिनेटमा नेइमार तथा पहिलो हाफको इन्जुरी समयमा एलकेसरले गोल गरेपछि बार्सिलोनाले ३–१ को अग्रता लियो । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन नसकेपछि बार्सिलोना ३–१ ले नै विजयी भयो ।

यसपटकको फाइनलमा गोल गरेका नेइमारले सन् २०१६ र २०१५ को फाइनलमा पनि गोल गरेका थिए । उनले २०१६ मा सेभिल्लासँगको खेलमा र २०१५ मा एथ्लेटिको बिल्बाओसँगको खेलमा गोल गरेका थिए । फाइनल खेलको क्रममा बार्सिलोनाका जाभियर मास्चेरानो चोटग्रस्त भएका छन् ।

कोपा डेल रेको सबै भन्दा सफल क्लब बार्सिलोनाले २९ पटक उपाधि जितेको छ । यो सिजनको अन्त्यसँगै बार्सिलोनाका प्रशिक्षक लुइस इन्ड्रिकले क्लब छोड्दै छन् । तीन वर्ष क्याम्प नाउमा बिताएका इन्ड्रिकले यसअघि नै यो सिजनको अन्त्यसँगै क्लब छोड्ने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot