दार्चुला, १४ जेठ । महिनामा दुईरतीनपटक सदरमुकाम जानुपर्छ । मसिनो ग्याबिन जाली बुन्ने डोरीजस्तो तारमा बाँदरझैं उल्टो गरी तारकै सहारामा अघि बढनुपर्छ ।
‘कतिखेर तार चुँडिन्छ भन्ने डर पलाएकै हुन्छ । सकी–नसकी तुइन तरिसक्दा आफैंलाई ठूलो युद्ध जिते जस्तो लाग्छ,’ व्यास गाउँपालिका–४ सुन्सेराकी हरुलीदेवी विष्टले भनिन् । नजिकमा बजार नभएकाले दैनिक उपभोग्यदेखि अन्य सरसमान लिन सदरमुकाम नपुगी धरै छैन । विष्टले तुइन तर्दाको पीडा सुनाउँदै भनिन्, ‘यहाँबाट सदरमुकाम पुग्न सजिलो छैन, बाँदरले जस्तै उल्टो गरी तुइन तरेर मात्रै सदरमुकाम पुग्न सकिन्छ ।’ व्यास गाउँपालिकाका सर्वसाधारणले वर्षौंदेखि खेप्दै आएको पीडा हो यो ।
सदरमुकाम जान उनीहरूले भारतको बाटो प्रयोग गर्नुपर्छ । स्वदेशबाट जानलाई एक दिन पूरै लाग्छ । भारतमा गाडी सुविधा भएको हुनाले एक दिनमै सदरमुकामको काम भ्याएर घर फर्किन सकिन्छ । सदरमुकाम जाने मिति नजिकिँदै गर्दा अघिल्लै दिनदेखि तुइन कसरी तर्ने भन्ने कुराले पिरोल्ने उनीहरू बताउँछन् ।
‘महिला भएर होला तुइन तर्न धेरै अफ्ठयारो हुन्छ, के गर्ने नतरे बालबच्चा भोकै राख्नुपर्छ,’ विष्टले भनिन्, ‘घरमा लोग्ने मान्छे नहुँदा सदरमुकाम आफैं जानुपर्छ ।’ ४ बालबालिका र सासूसहित ६ जनाको परिवारलाई सदरमुकामबाटै लगेको सामलले पाल्न अप्ठयारो हुने उनी बताउँछिन् । यहाँका बासिन्दा बिरामी पर्दा पनि तुइन तरेर भारतीय बजार धारचुला र जिल्ला अस्पताल पुग्नुपर्छ ।
यति मात्रै होइन, गर्भवती भएका बेलासमेत तुइनमै तराएर जिल्ला अस्पताल वा भारतका विभिन्न सहरमा लैजाने गरिन्छ । सुत्केरी व्यथा लागे तुइन तराउन अति जोखिम हुनुका साथै आमा र बच्चालाई अप्ठ्यारो नहोस् भनी केहीअघि नै सदरमुकाम पठाउने गरेको स्थानीय बताउँछन् । व्यास क्षेत्रको उब्जनीले बढीमा ३ महिना मात्र खान पुग्छ । ‘बाँकी ८र९ महिना भारतीय बजारबाट खाद्यान्न किनेर गुजारा चलाउनुपर्छ,’ विष्टले भनिन् ।
उच्च पहाडी भेग भएकाले यहाँका अधिकांश बासिन्दा भारतीय बजारबाट खाद्यान्नको आपूर्ति गर्छन् । तुइनको सहायताले पहिले दिनभर भारतमा काम र्गयो, बेलुकी आफ्नै घरमा फर्कने गर्थे । ‘भारतबाट गए डेढरदुई घण्टामै सदरमुकाम खलंगा पुग्छौं,’ उनले भनिन्, ‘भारतबाट सदरमुकाम जान तुइन तर्न सके सहज हुन्छ, आफ्नै देशको बाटो भएर जानलाई भीरको बाटो दिनभर हिँड्नुपर्छ ।’
व्यास गाउँपालिका–५ का हरि धामी भन्छन्, ‘भारतमा दैनिक ज्यालादारीमा मजदुरी गर्दै ५० वर्ष कटाइसकें । आफ्नो देशमा विकास र रोजगारीका कुरा त परै जावस महाकाली तर्न पुलसमेत छैन । तुइनकै भरमा बाँचेका छौं ।’ उनले घरमा परिवारलाई रासन र्पयाउन साता दिनमा घर आउनुपर्ने समस्या रहेको बताए । ‘तुइनको सहायताले सकी नसकी काली (महाकाली) वारपार गर्दाको सकस कहिले अन्त्य हुने हो थाहा छैन,’ उनले भने, ‘तुइन तर्दा तल महाकालीतिर हेर्ने हो भने डरले मुटु काम्न थाल्छ ।’
नेताहरूले पञ्चायतकालदेखि महाकालीमा झोलुंगे पुल बनाउने भनेर चुनावको समयमा भाषण गरी नागरिकलाई आस दिए तर त्यो कहिल्यै पूरा नभएको स्थानीय रामसिंह कुँवर बताउँछन् ।
व्यास गाउँपालिकाकै तिग्रममा नेपाल–भारत जोड्ने झोलुंगे पुल बन्ने भएको छ । तर, त्यो पुलबाट घर पुग्न ७र८ घण्टा हिँड्नुपर्ने भएकाले तुइनको जोखिमबाट मुक्ति पाइने अवस्था नरहेको व्यास–२ राप्लाका राजुसिंह बुढाथोकीको भनाइ छ । (आजको कान्तिपुर दैनिकमा मनोज बडूले लेखेको समाचार)