प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजपा नेपाललाई पनि चुनावमा सहभागी गराउनको लागि आफ्नो पार्टी पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । नेता खनालले मोर्चालाई चुनावमा सहभागी गराउनको लागि जेठ ३१ गतेको निर्वाचनलाई एक हप्ता पर सार्नपनि आफूहरु तयार रहेको स्पष्ट पारे । संविधान संशोधन प्रस्तावमा चुनावपछि छलफल गर्न एमाले सकारात्मक रहेको उनको भनाई थियो । नेपाली रेडियो नेटकर्वको नियमित कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलाले बरिष्ठ नेता खनालसँग गरेको कुराकानीको सम्पादित अंश :
गणतन्त्र आएको १० बर्ष भयो के–के गर्न बाँकी छ ?
धेरै कुराहरु बाँकी छन् । अहिले हामी संविधान कार्यान्वयन गर्ने क्रममा छौं । पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । दोस्रो चरणसँगै तीनवटै तहको निर्वाचन भएको खण्डमा संविधानको कार्यान्वयन भएको ठहरिने छ।
तर दलहरूका बीचमा एकता छैन्, सहमति छैन् कसरी संविधान कार्यान्वयन होला त ?
अहिले राष्ट्रिय सहमतिको सरकारको खाँचो छ । हामी यसमा सकारात्मक छौँ। तर नेपाली काँग्रेसले एउटा ठुलो दल बाहिर र अर्को सरकारमा हुनुपर्छ भनेर भन्नुभयो । अब आफ्ना असहमतिहरू त्यागेर संविधान कार्यान्वयन हुनुपर्छ भन्ने मान्यता राख्नुपर्छ ।
मधेशवादी दलहरूलाई निर्वाचनमा जानको लागि तपाईहरुलेपनि कुनै भूमिका खेल्नु भएन नि ?
होईन । हामीले मधेशवेश पार्टीसँग वार्ता गरेका छौँ । आजपनि वार्तामै छौँ। सबै नेतासँग हामी निरन्तर सहमतिमा अघि बढौँ भनेर भनिरहेकाछौँ।
प्रयास मात्र गर्नुभयो तर जनताले परिणाम पाएनन् नि ?
वार्ताको माध्यमबाट वर्तमान समस्या समाधान गर्ने हो। हामी जनतालाई विश्वस्त पार्न चाहान्छौँ । अबको केही समयभित्र जनताले खोजेको परिवर्तन हामीले दिनेछौँ ।
उसो भए संविधान संशोधनमा एमाले लचिलो भएको हो ?
जेठ ३१ गते निर्वाचन तोकिसकिएको छ । यसकारण संशोधनको काम पछि गरौँ भनेर हामीले भनेका छौँ । अहिले धेरै काम गर्न सकिन्न ।
निर्वाचनपछि संशोधन गर्ने पक्षमा एमाले पुग्यो उसो भए ?
राष्ट्र र जनताको भलाई हुने काममा एमाले जहिले पनि तयार छ ।
संशोधन प्रस्तावमा एमाले किन टाढा रहन खोज्छ ?
अहिलेको संशोधन सबैको लागि मान्य छैन् । अदालतले हुँदैन भनेको छ । निर्वाचन आयोगले सकिन्न भनेको छ । हामीले पनि संविधानको मर्म विपरित कसैले जानुहुँदैन भनेर भनिरहेका छौँ । परिमार्जितसहितको संशोधन हुनुपर्छ । हामीले भन्दै आएका छौँ नि । सबै कुरा यो निर्वाचनपछि गर्नुपर्छ भन्नेमा हामी छौ ।
जेठ ३१ को निर्वाचनको मिति सार्ने सहमति भएको हो ?
यदि राजपा नेपाल निर्वाचनमा भाग लिने हो भने संविधान संशोधनमार्फत केही प्राविधिक विषयलाई मुर्त रुप दिएर हुन्छ भने त्यसो गरौ भन्नेमा हामी उभिएका हौँ । कति दिन यता उति गर्न सक्छौँ त ? भन्नेबारेमा छलफल भएको हो ।
उसो भए अब एक हप्ता निर्वाचन पछि सर्ने भयो ?
करिब त्यस्तै भएको छ । तर जेठ ३१ पछि असारमा निर्वाचन कठिन हुुन्छ । भारी बर्षा हुने समय हो । मौसम कस्तो हुन्छ ? त्यसमा पनि निर्भर हुन्छ । टेक्निकल कुराहरू समाधान गरेर अघि जानुपर्छ भन्नेमा एमाले छ ।
बजेटको बारेमा एमालेको धारणा के हो ?
नयाँ कुनै कार्यक्रम आउँदैनन् ।
बजेटको आकार ठुलो आउँदैछ भन्ने छ नि ?
यो मुलुकको विषय हो । दीर्घकालिन योजनाहरू पुरा गर्नेगरि बजेट आएकाले भएकाले हाम्रो कुनै बिरोध रहँदैन् ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि एमालेले सहयोग गर्छ त ?
हामी त सहमतिको सरकार बनाउने पक्षमा छौँ । त्यसो गरेमा मुलुकको भलाई हुन्छ भनेर हामीले भनिरहेका छौँ। गठबन्धनको परिणाम चितवनमा देखिसकेको छ । लोकतन्त्रमा राजनीतिक दलले खेल्नुपर्ने भूमिका के हो ? भन्ने प्रश्न खडा भएको महसुस भएको छ ।