Logo

वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य बैंक खाता खोल्नुपर्ने



काठमाडौँ, १५ जेठ । वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने भएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४÷७५ का लागि आज व्यवस्थापिका–संसद्मा बजेट प्रस्तुत गर्दै कामदारले विदेश जानुअघि खोलेका सोही खातामा उसले पठाएको विप्रेषण आउने व्यवस्था मिलाइने बताउनुभयो । वैदेशिक रोजगारीमा गएकाहरुले औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउन सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।

कामदारले पठाएको विपे्रषणलाई सदुपयोग गर्ने उद्देश्यले उनीहरुलाई सहभागी गराएर ‘रेमिट हाइड्रो’ लगायत उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नेसमेत बजेटमा उल्लेख छ ।

सीप विकास तालिमलाई प्राथमिकता दिइने, सीप लिएकाहरुलाई आयआर्जनका कार्यक्रम गर्न स्रोत उपलब्ध गराइने, रोजगार र स्वरोजगारका माध्यमबाट रोजगारीमा पहुँच वृद्धि गरिने र सीपमूलक तालिम लिएकाहरुलाई सहुलियत दरमा पुँजी उपलब्ध गराइने बजेटमा उल्लेख छ ।

बालश्रमिकको अन्त्यका लागि दशवर्षीय गुरुयोजना बनाइने समेत अर्थमन्त्री महराले बताउनुभयो ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्