काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचनका लागि राजनीतिक सहमति खोज्ने प्रयास जारी रहेको र मुस्लिम समुदायको पवित्र पर्व रमजानसमेतलाई ध्यानमा राखी दोस्रो चरणको निर्वाचनको मिति केही दिन पर सार्ने विषयमा केन्द्रित रहेर छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भएको छलफलमा प्रधानमन्त्री दाहाललाई आयोगका पदाधिकारीहरुले सकारात्मक परामर्श दिनुभएको निर्वाचन आयोगद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
यसअघि मन्त्रिपरिषद्ले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि घोषणा गरेको असार ९ गते शुक्रबार मुश्लिम समुदायको पवित्र पर्व रमजान परेको हुँदा सो समुदायको मागअनुरुप उहाँहरुको भावनालाई सम्बोधन गर्ने र राजनीतिक सहमतिका लागि भइरहेको प्रयासलाई समेत दृष्टिगत गरी सरकारले निर्वाचनको मिति सार्ने निष्कर्षमा पुगेको बुझिएको छ ।
सरकारले दोस्रो चरणको निर्वाचन असार १४ गते बुधबार गर्ने तयारी गरेको र सोसम्बन्धी निर्णय भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले अनुमोदन गर्ने बुझिएको छ ।
निर्वाचन आयोगले ७४४ वटै स्थानीय तहको निर्वाचन एकैपटक वैशाख ३१ गते गर्नेगरी तयारीलाई अन्तिम चरणमा पु¥याएका बेला त्यसअघि पनि सरकारले राजनीतिक वातावरण कायम गर्ने जनाउँदै दुई चरण निर्वाचन गर्नेगरी दोस्रो चरणको निर्वाचन यही जेठ ३१ गते गर्ने निर्णय गरेको थियो ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले प्रधानमन्त्री दाहालले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव तथा आयुक्तबीच जेठ ३१ गते तय भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनका सम्बन्धमा परामर्श गर्नुभएको जानकारी दिनुभयो ।
छलफलमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि उपस्थित हुनुहुन्थ्यो । आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह तथा आयोगका सचिव गोपीनाथ मैनाली सहभागी हुनुहुन्थ्यो । रासस