Logo

असार १४ गतेको निर्वाचनमा पनि राजपा नेपालले भाग नलिने, अर्को चुनाव असोजमा हुने !



काठमाडौं, १७ जेठ । राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा सहभागी गराउने उद्देश्यले सरकारले आजमात्रै दोस्रो चरणको स्थानीय तहको निर्वाचन आगामी असार १४ गते गर्ने निर्णय गरेको छ ।

तर राजपा नेपालका शीर्ष नेताहरु भने संविधान संशोधन र जनसंख्याको आधारमा तराई÷मधेशमा स्थानीय तहको संख्या वृद्धि नभए कुनैपनि निर्वाचनमा भाग नलिने भन्दै चेतावनीयुक्त अभिव्यक्ति दिँदै हिँडेका छन् । उनीहरुको यो अभिव्यक्तिले अब असार १४ गतेपनि निर्वाचन हुँदैन भन्ने पुष्टि भएको छ ।

सत्तारुढ दल कांग्रेस र नेकपा माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनमा राजपा नेपाललाई जसरी भएपनि सहभागी गराउने उद्देश्य बोकेर त्यही अनुसार होमवर्क गरिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चालाई फकाउनको लागि आफूले दिनरात मेहनत गरेको बताएपनि मोर्चाका माग पूरा गराउन अहिलेसम्म सरकार सफल नभएकोले बाध्य भएर आफूहरु संघर्षमा उत्रिनुपरेको राजपा नेपालका शीर्ष नेताले बताए ।

छिमेकी मित्रराष्ट्र भारतले समेत निशर्तः चुनावमा जानको लागि राजपा नेपालका शीर्ष नेताहरुलाई आग्रह गरिसकेको अवस्थामा राजपा नेपाल भने चुनाव अघि नै संविधान संशोधन नभए कुनैपनि निर्वाचनमा भाग नलिने भन्दै थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्नेतिर बढि केन्द्रित बनेका छन् ।

उच्च स्रोतका अनुसार अब असार १४ मा पनि निर्वाचन भएन भने एकैचोटि असोजमा दोस्रो चरणको निर्वाचन हुने पक्का भएको छ । हुन त असार १४ नेपालमा मध्य वर्षाको समय हो । यो समयमा कुनैपनि हालतमा चुनाव गराउन सकिने मौसमी अनुकुलता देखिँदैन् । तर प्रधानमन्त्री बन्न आँतुर कांग्रेस सभापति शेरबहादुर देउवा भने जसरीपनि मोर्चालाई विश्वामा लिएर नै अघि बढ्ने मनशायमा पुगेका छन् । उनले मोर्चालाईपनि चुनावमा सहभागी गराएर सके सहमतिको नभए बहुमतको प्रधानमन्त्री बन्ने सोचेका छन् । त्यही अनुरुप उनले होमवर्कपनि गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्