Logo

प्रचण्ड र देउवाद्धारा मन्त्रालय बाँडफाँड गर्न ‘कोर टिम’ गठन, यस्तो छ भागबण्डा !



काठमाडौं, १७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनको लागि दिएको एक हप्ताको समय आज सकिएको छ । तर सहमतिको सरकार गठनको लागि कुनै संभावना नभएपछि भोलि नै राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनको लागि संसदलाई पत्राचार गर्नेछिन् ।

कांग्रेस र माओवादी केन्द्रवीचको भद्र सहमतिका अनुसार अब कांग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने पक्का भएको छ । दुई पार्टीका शीर्ष नेताहरुले देउवा नेतृत्वको सरकारमा पार्टीबाट कस–कसलाई मन्त्री बनाएर पठाउने भन्नेबारेमा आन्तरिक गृहकार्य थालिसकेका छन् । तर यो बीचमा माओवादीले आफ्ना पार्टीबाट सरकारमा मन्त्रीहरु पठाउनुभन्दापनि पहिले सरकारमा पार्टीका तर्फबाट कति जनालाई सरकारमा पठाउने भन्नेबारेमा कांग्रेससँग बार्गैनिङ् गरिरहेको स्रोतको दाबी छ।

माओवादी केन्द्रले यसपटक प्रधानमन्त्री कांग्रेसले पाउने भएपछि आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको संख्या थप्नुपर्ने अडान लिएको छ । अहिले माओवादीबाट ८ जना मन्त्रीहरु छन् । अब बन्ने सरकारमा कम्तिमा पनि १२ मन्त्रालय आफूहरुले पाउनुपर्ने माओवादी केन्द्रका नेताहरुको दाबी छ ।

सोही अनुसार कांग्रेस सभापति देउवा र प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले मन्त्रीहरु चयन गर्न र मन्त्रालय भागबण्डाको लागि ‘कोर टिम’ नै गठन गरेका छन् । स्रोतका अनुसार उक्त कोर टिममा कांग्रेसबाट हालका उपप्रधान् एवम् गृहमन्त्री विमलेन्द्र निधि र भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखक छन् भने माओवादी केन्द्रबाट हालका उपप्रधान् एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र नेता वर्षमान पुन छन् ।

अब बन्ने सरकारमा कांग्रेसले प्रधानमन्त्री र अर्थमन्त्रालयसहित अन्य मन्त्रालयहरु लिने बुझिएको छ भने माओवादीले उपप्रधानसहित गृहमन्त्रालय र अन्य मन्त्रालयहरु लिने भएको छ । त्यस्तै देउवा नेतृत्वको सरकारमा पनि जम्बो उपप्रधानमन्त्रीहरु ह्ुने पक्का भएको छ । स्रोतका अनुसार देउवा सरकारमा नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राप्रपा अध्यक्ष

कमल थापा, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी हुने बुझिएको छ ।

केही मन्त्रीहरु दोहोरिने :

सहमतीय सरकारको सम्भावना नरहेपछि करिव साँढे ३ सय सांसदको समर्थन सहित देउवा यसै हप्ता प्रधानमन्त्री बन्ने सम्भावना रहेको छ । संभवत देउवाले यही २० गते नै प्रधानमन्त्रीमा माओवादीको समर्थनमा उम्मेद्धवारी दिने पक्का भएको छ । र २१ गते भोटिङ्बाट देउवा प्रधानमन्त्री हुने निश्चित छ ।

देउवा प्रधानमन्त्री बन्ने चर्चासँगै प्रचण्ड नेतृत्वको सरकारमा रहेका केही मन्त्रीहरु दोहोरिने चर्चा पनि सुरु भएको छ । यसरी चर्चामा रहेका मन्त्रीहरुमा काँग्रेस र माओवादी दुवै दलका रहेका छन्।

काँग्रेसबाट ५ जनासम्म मन्त्री दोहोरिन सक्ने सम्भावना रहेको छ भने माओवादीबाट जनार्दन शर्मा दोहोरिन सक्ने सम्भावना रहेको माओवादी स्रोत बताउँछ । काँग्रेसबाट उद्योग मन्त्रीमा राम्रो काम गरेर प्रशंसा कमाएका नविन्द्रराज जोशीको सम्भावना बढी छ ।



प्रतिक्रिया दिनुहोस्