Logo

पुनःनिर्माणसम्बन्धी जिज्ञासा भए पैसा नलाग्ने नम्बरमा फोन गर्नुस्



काठमाडौँ, १७ जेठ । निजी आवाससम्बन्धी कुनै गुनासो छ वा पुनःनिर्माणसम्बन्धी कुनै जानकारी चाहिएको छ भने अब पैसा नलाग्ने (टोल फ्री) सेवा उपयोग गर्न पाउनुहुन्छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आजदेखि यस्तो सेवा सुरु गरेको हो । अब भूकम्पपीडितले आवास निर्माण तथा पुनःनिर्माणसम्बन्धी कुनै जानकारी चाहिए वा गुनासो गर्नुपरे प्राधिकरणको हेल्पलाइनमा फोन गर्न सक्नेछन् ।

नेपाल टेलिकमको फोन प्रयोगकर्ताले १६६०–०१–७२००० र एनसेल प्रयोगकर्ताले ९८०१५–७२१११ मा फोन गर्दा आवश्यक जानकारी पाउनेछन् । इच्छुकले गुनासो दर्ता गरेको भोलिपल्ट जवाफ दिने व्यवस्था गरिएको छ । जवाफ दिन प्राधिकरणले नै प्रश्नकर्तालाई फोन गर्ने व्यवस्था मिलाइएको छ । यो सेवा २४ सै घन्टा उपलब्ध हुनेछ ।

सेवाको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेलले नमुना गुनासो गरी शुभारम्भ आज गर्नुभयो । उहाँले पहिलो किस्ता लिई मापदण्डअनुसार जग हालेको तर दोस्रो किस्ता लिने प्रक्रिया पूरा गर्नका लागि कोही पनि अवलोकन गर्न नआएको नमुना गुनासो गर्नुभएको थियो ।

“यो सेवा लाखौँ भूकम्पपीडितका लागि उपयोगी हुन्छ, यसले पुनःनिर्माणमा थप सहयोग गर्नेछ, यसका कारण पीडित तथा प्राधिकरणबीच दुईतर्फी सञ्चारमा मद्दत पुग्छ”– उहाँले भन्नुभयो ।
सेवा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक तथा प्राविधिक सहयोगमा सुरु गरिएको सो अवसरमा जानकारी गराइयो ।

शुभारम्भ कार्यक्रममा युएनडिपीकी नेपाल उपनिर्देशक सोफी केम्खाडजेले सेवाले प्राधिकरणलाई स्थानीयस्तरको स्थिति बुझ्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस

 



प्रतिक्रिया दिनुहोस्

Screenshot