Logo

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पुँजीगत खर्च ६० प्रतिशत



काठमाडौँ, १८ जेठ । विकास निर्माणका महत्वपूर्ण आयोजना रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठ दोस्रो सातासम्म पुँजीगत खर्च ६० प्रतिशत पु¥याएको छ ।

चालु आर्थिक वर्षको अन्त्यमा मन्त्रालयको लक्ष्यअनुरुप पुँजीगत खर्च हुने प्रतिबद्धता मन्त्रालयले जनाएको छ । यो तथ्याङ्क निर्माण सम्पन्न भई बिल फछ्र्यौट भइसकेका आधारमा लिइएको हो ।

वर्तमान सरकार निर्माण भएको १० महिने अवधिमा वर्षौंदेखि अन्योलमा रहेको हुलाकी राजमार्ग सुरु हुनुलाई महत्वपूर्ण उपलब्धि हासिल भएका रुपमा लिइएको मन्त्री रमेश लेखकले बताउनुभयो ।

दश महिनामा भएका प्रगतिका विषयमा जानकारी दिन आज मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा उहाँले तराई–मधेसको उन्नतिका लागि हुलाकी राजमार्ग भाग्यरेखाका रुपमा रहेको उल्लेख गर्नुभयो ।

“हुलाकी राजमार्ग विशेष प्राथमिकतामा छ, राजमार्गको ८०० किमी दुई लेनको निर्माण सुरु भएको छ, यो मार्ग निर्माणका लागि भारतको सहयोगमा आन्तरिक स्रोत पनि परिचालन गरिएको छ”– उहाँले भन्नुभयो ।

सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक दृष्टिले महत्वपूर्ण रहेको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को व्यवस्थापन नेपाली सेनालाई दिएर निर्माण सुरु हुनुलाई पनि मन्त्री लेखकले आफ्नो कार्यकालको उपलब्धिपूर्ण काम भएको सुनाउनुभयो ।

कसले बनाउने के गर्ने भन्ने अन्योलमा रहेको राष्ट्रिय गौरवको यो आयोजना सरकारकै स्रोतमा सुरु हुनु काठमाडौँ र तराई–मधेसका जनताको भावनालाई जोड्न योगदान गर्ने उहाँको भनाइ थियो ।

मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, भारत–चीनलगायत देशका बीचमा सडक र यातायात सञ्जालले जोड्न ओबीओआरमा हस्ताक्षर, उत्तर–दक्षिण लोकमार्ग, हिमाली लोकमार्गलगायत आर्थिक र पर्यटन विकासमा योगदान गर्ने आयोजना अघि बढाउनका लागि आधार निर्माण भएको मन्त्रालयले जनाएको छ ।

थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि जापानसँग सम्झौता, पूर्व–पश्चिम रेलमार्गको काममा तीव्रता, उपत्यकामा फ्लाइ ओभर निर्माणको सोच, महेन्द्र राजमार्गलाई चार लेनमा स्तरोन्नति, लाइसेन्स लिन रातभर लाइनमा बस्नुपर्ने बाध्यतालाई यातायात व्यवस्था कार्यालयको बिस्तारले सहयोग पुग्नु पनि मन्त्रालयका उपलब्धि भएको मन्त्री लेखकले दाबी गर्नुभयो ।

वार्षिक रु २१ अर्ब राजस्व बुझाउने यातायात क्षेत्रमा अनुगमन गर्न सवारी नहुनेलगायत समस्या समाधान गर्न नसकिएको पनि उहाँले स्वीकार गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot