Logo

श्रीलङ्कालाई युरोपेली सङ्घद्वारा तीन लाख युरो सहयोग गर्ने



कोलम्बो, १९ जेठ । युरोपेली आयोगले बाढी पहिरोबाट पीडित श्रीलङ्कालाई मानवीय सहायता कोषमार्फत तीन लाख युरो छुट्याइएको जनाएको छ ।

बाढीपिडित समुदायका लागि आपत्कालीन सहयोगस्वरुप इयुले श्रीलङ्कालाई दिइने शुक्रबार जानकारी दिएको छ ।

“इयुले दिएको सहयोग तल्लो तहका सबैभन्दा बढी प्रभावित परिवारका सदस्यहरुलाई हो, यो युरोपियन मुलुकका जनताको तर्फबाट श्रीलङ्काका जनताका लागि ऐक्वबद्धता हो,” युरोपेली आयोगको मानवीय सहायता र सङ्कट व्यवस्थापन आयुक्त क्रिष्टोस् स्टीलिअनीदेस भन्नुभयो ।

इयुले प्रभावित क्षेत्रका मान्छेहरुलाई खाद्यान्न, खानेपानी, सरसफाइका सामग्री, आश्रयस्थललगायत अत्यावश्यक भएको पनि जनाएको छ ।

श्रीलङ्कामा बाढीपहिरोका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्म २०६ पुगेको र ९२ जना अझै हराइरहेको प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यस प्रकोपको कारण झन्डै छ लाख ५० हजार सर्वसाधारण प्रभावित भएका छन् भने, एक लाख जना सुरक्षित स्थानमा विस्थापित भएका छन् ।

बाढी पहिरोका कारण १० हजार घर पूर्ण तथा आंशिक रुपमा क्षतिग्रस्त भएका छन् ।

संयुक्त राष्ट्र सङ्घीय विश्व स्वास्थ्य सङ्गठन, विश्व बालबालिका कोष, भारत, पाकिस्तानलगायत अन्य मुलुकले यस बाढिपहिरो पीडित जनतालाई उल्लेखनीय परिमाणमा खाद्यान्न, लत्ताकपडा तथा अन्य उद्धार सामग्रीको सहयोग पठाइरहेका छन् ।

श्रीलङ्कालाई सन् २००३ देखि बाढी पहिरोले नराम्ररी सताउन थालेको हो । त्यस वर्ष परेको भीषण वर्षात्ले दुई सय पचास जनाको मृत्यु हुनाको साथै दश हजार जति घरधुरी नष्ट भएका थिए । रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्

Screenshot