Logo

‘देशको राष्ट्रिय स्वार्थ प्रवद्र्धनमा सफलता’ : परराष्ट्रमन्त्री महत



काठमाडौँ, १९ जेठ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले मुलुकको राष्ट्रिय स्वार्थ प्रवद्र्धनमा सरकारलाई सफलता प्राप्त भएको बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालयमा आज अपराह्न आयोजित पत्रकार सम्मेलनमा उहाँले वर्तमान सरकार गठन भएपछि छिमेकीसँग नेपालको हित र आवश्यकतालाई केन्द्रविन्दुमा राखेर विश्वासमा आधारित सम्बन्ध विकास गर्ने नीतिअनुरुप भारत र चीनसँगको सम्बन्धलाई सुदृढ तुल्याइएको बताउनुभयो ।

“संयुक्त राष्ट्र सङ्घलगायत अन्य बहुपक्षीय संस्थामा नेपालको सम्बन्ध र सहभागितालाई घनीभूत बनाउँदै मुलुकको लोकतान्त्रिक एवम् समावेशी संविधानका विशेषता र त्यसको कार्यान्वयनका निम्ति भएका प्रयासबारे अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन सफल भयौँ”, अत्यन्त जटिल परिस्थितिमा वर्तमान सरकार गठन भएका बेला कूटनीतिक सक्रियता एवम् गतिशीलता कायम गरिएको सुनाउँदै उहाँले भन्नुभयो ।

झन्डै १० महिनाको आफ्नो कार्यकालमा उच्चस्तरीय परराष्ट्रनीति पुनरवलोकन कार्यदल गठन, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पुनःसंरचना, उच्चस्तरीय आर्थिक कूटनीति सञ्चालन, अनुगमन तथा निर्देशन समिति गठन, लगानी तथा पूर्वाधार सम्मेलन आयोजना, स्पेनमा राजदूतावास स्थापना, राहदानी सेवामा सहजता, ‘कन्सुलर’ सेवामा सुधारलगायत राष्ट्र र जनहितमा धेरै काम भएको जानकारी उहाँले दिनुभयो ।

नेपालमा चिनियाँ लगानी भित्र्याउन तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’सम्बन्धी बृहत् आयोजनाको सम्झौतापत्रमा हस्ताक्षर भएको र एसियाका लागि बोआओ मञ्चमा भाग लिने क्रममा प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिका साथै अन्य उच्चपदस्थ चिनियाँ अधिकारीसँगको भेटवार्ताबाट नेपाल र चीनबीचको पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिएको मन्त्री डा महतले बताउनुभयो ।

त्यसैगरी नेपाल र भारतबीच स्थापना भएका सुरक्षा, कृषि, सीमा, हवाई सेवा, ऊर्जा, भौतिक पूर्वाधार तथा संस्कृतिसँग सम्बन्धित द्विपक्षीय संयन्त्रको बैठक भएका र तिनमा नेपालले राष्ट्रिय हितका अनेकौँ विषयमा आफ्ना कुरा स्पष्ट रुपमा प्रस्तुत गरेको जानकारी उहाँले दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot