Logo

देउवा र ओलीबीच भेटवार्ता, प्रधानमन्त्री निर्वाचनमा नसघाउने ओलीको जवाफ



भक्तपुर, २० जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार हुने प्रधानमन्त्री निर्वाचन र समसामयिक राजनीतिक विषयमा आज छलफल भएको छ ।

ओली निवास बालकोट, भक्तपुरमा आज साँझ भएको झन्डै दुई घन्टा लामो छलफलमा काँग्रेस सभापति देउवाले आइतबार हुने प्रधानमन्त्रीको निर्वाचनमा सघाउन अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको थियो ।

बैठकमा सहभागी काँग्रेस नेता विमलेन्द्र निधिकाअनुसार सभापति देउवाले निरन्तरको संसदीय अवरोधलाई हटाएर सहयोग गर्न आग्रह गर्नुभएको थियो । देउवाको प्रस्तावप्रति अध्यक्ष ओलीले प्रधानमन्त्रीको निर्वाचन संसदीय प्रक्रियाभन्दा बाहिरबाट भएकाले त्यसमा आफ्नो पार्टी सहभागी नहुने जवाफ दिनुभएको थियो ।

सो अवसरमा अध्यक्ष ओलीले भरतपुर महानगरपालिकामा पुनःनिर्वाचन गर्नेभन्दा पनि पुनःमतगणना हुनुपर्ने थियो भन्दै उक्त विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताउनुभएको उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहनुभएका निधिले जानकारी दिनुभयो ।

जवाफमा काँग्रेस सभापति देउवाले भरतपुरको पुनःनिर्वाचनलाई प्रधानमन्त्रीको निर्वाचनसंग जोडेर हेर्न नमिल्ने भन्दै दुई निर्वाचन फरक–फरक पाटो भएको र भरतपुरको पुनःनिर्वाचनका विषयमा आफू र आफ्नो पार्टीको संलग्नता नभएको उल्लेख गर्नुभएको निधिले बताउनुभयो ।

सभापति देउवालाई उद्धृत गर्दै उहाँले प्रधानमन्त्रीको निर्वाचनलाई प्राथमिकतामा राखेर सहयोग गर्न आग्रह गर्नुभएको बताउनुभयो । त्यस्तै, एमाले अध्यक्ष ओलीका स्वकीय सचिव अनिश दाहालले प्रधानमन्त्रीको निर्वाचन संसद् प्रक्रियाभन्दा बाहिरबाट भएकाले समर्थन गर्न नसक्ने बताउनुभएको जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्