Logo

दोस्रो चरणको निर्वाचनमा कांग्रेस-माओवादी तालमेल



काठमाडौं २१ जेठ ।
आगामी असार १४ गते हुने भनिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि ताप्लेजुङको फुङलिङ नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल भएको छ ।
नेपाली कंग्रेसलाई मेयर र माओवादी केन्द्रलाई उपमेयर पदमा उठाउने सहमति सहित दुई दलबीच चुनावी तालमेल भएको हो । शुक्रबार सदरमुकाममा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसबाट मेयरमा केशवप्रसाद दाहाल र उपमेयरमा माओवादी केन्द्रबाट बमबहादुर भट्टराई (तारा) लाई उठाई चुनावी तालमेलमा जाने कुरा सार्वजनिक गरिएको हो।
मेयर र उपमेयर बाहेक अन्य पद, वडा र गाउँपालिकाको विषयमा पनि दुई दलबीच छलफल भइरहेकाले बाँकी स्थानको निर्णय हुन केही दिन लाग्ने नेपाली कांग्रेसका सचिव छबिरमण गुरुङले बताउनुभयो । नगरपालिकाभित्रैको वडाको पदाधिकारीमा दुई दलबीच सहमति हुन नसक्दा नगरपालिका सहित गाउँपालिकाको तालमेलको टुङ्गो लाग्न नसकेको माओवादी स्रोतले बताएको छ ।
पत्रकार सम्मेलनमा मेयर र उपमेयरका उम्मेदवारले चुनावी तालमेलमा पार्टीहरुबीच जे सहमति भयो सोही अनुसार आफुहरु नागरिक सामु जाने बताएका थिए । ताप्लेजुङमा एक नगरपालिका र आठ गाउँपालिकासहित जम्मा ९ स्थानीय तह छन् । जिल्लामा मतदाता ७० हजार ७ सय ७८ छन् ।

एमाले पनि तालमेलको कसरतमा
नेकपा एमालेबाट मेयरमा छत्रपति प्याकुरेललाई उठाएपछि कांग्रेस र माओवादीबीच चुनावी तालमेल भए पनि एमालेले भने अहिल सम्म कुनै दल सँग चुनावको लागि तालमेल गरेको छैन ।
नगरपालिकाको मेयर बाहेक अन्य पदको उम्मेदवार छनोट नगरेको एमाले पनि तालमेलकै तयारीमा रहेको एमाले जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङले बताउनुभयो । माओवादी-काँग्रेस गठबन्धन, एमाले र लिम्बुवानबाहेक अन्य कुनै दलले नगरपालिकाको मेयरमा उम्मेदवार उठाएका छैनन् ।
फुङलिङ नगरपालिकामा लामो छलफलपछि एमालेले मेयर पदमा छत्रपति प्याकुरेललाई उठाएको हो । शिक्षण पेसाबाट राजनीतिमा आएका प्याकुरेलले शिक्षक महासंघको जिल्ला अध्यक्षको दुई कार्यकाल सम्हालिसक्नुभएको छ । नगरमा मेयरका आंकाक्षी धेरै भएपछि जिल्लाले प्रदेश कमिटीमा सिफारिस गरेमध्येबाट एमालेले प्याकुरेलको नाम टुंगो लगाएको हो ।
यहाँ एमालेले राप्रपा वा नयाँ शक्तिसँग तालमेल गर्ने गरी आन्तरिक छलफल थालेको छ । अहिले नै कुन-कुन दलसँग तालमेल गर्ने भन्ने टुंगो लागिनसके पनि राप्रपा वा नयाँ शक्तिमध्ये एक वा दुवैसँग पनि तालमेल हुनसक्ने एमाले स्रोतले जनाएको छ ।
जिल्लामा जनाधारका हिसाबले नयाँ शक्तिभन्दा राप्रपा केही राम्रो भएकाले एमालेले राप्रपासँग तालमेल गर्ने सम्भावना बढी छ । फुङलिङमा कांग्रेसको पनि राम्रै प्रभाव रहेको र माओवादीले समेत साथ दिँदा एमालेले उसलाई रोक्न राप्रपा र नयाँ शक्ति दुवैसँग तालमेल गर्ने सम्भावना बढी छ ।
अन्नपूर्णपोष्टमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्