काठमाडौं, २१ जेठ । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडले जितेको छ ।
गएराति वेल्सको राजधानी कार्डिफमा भएको फाइनलमा ईटालीको युभेन्टसलाई ४–१ ले हराउँदै स्पेनको रियल मड्रिडले उपाधि जितेको हो । खेलमा रियल मड्रिडलाई विजयी गराउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने क्यासेमिरो र मार्को एसेन्सीयोले एक–एक गोल गरे ।
पराजित टोली युभेन्टसका लागि मारियो मान्डुकिचले एक गोल फर्काए । जितसँगै रियाल मड्रिडले लगातार दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । युरोपकै सर्वाधिक सफल टोली रियाल मड्रिडले अहिलेसम्म १२ पटक उपाधि जितेको छ ।
दोस्रो स्थानमा रहेको एसी मिलानले ७ पटक उपाधि जितेको छ । फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानको प्रशिक्षणमा यो सिजनको स्पेनिस ला लिगा जितेको रियल मड्रिडले युरोपियन उपाधि पनि थपेको हो । एजेन्सीको सहयोगमा