Logo

प्रधानमन्त्री चयन प्रक्रिया सर्यो, संसद्को बैठक यही जेठ २३ गते



काठमाडौँ, २१ जेठ । व्यवस्थापिका–संसद्मा स्पष्ट बहुमत भएपनि सदन नचल्दा आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनबाट रोकिनुभएको छ ।

प्रमुख दलबीच सहमति जुटाउने भन्दै संसद्को बैठक यही जेठ २३ गते १३.०० बजेसम्मका लागि स्थगित भएपछि प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया पर सरेको हो ।

सभामुख ओनसरी घर्तीको पहलमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसे पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवरोध गर्ने अडानबाट पछि नहटेपछि प्रधानमन्त्री निर्वाचनको मिति सरेको नेताहरुले प्रतिक्रिया दिनुभएको छ ।

प्रमुख दलबीच द्विपक्षीय, बहुपक्षीय एवम् आन्तरिकरुपमा पनि छलफल गरेर अन्तिम निष्कर्षमा पुग्ने सहमति भएको छ । बैठकपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री चयनको प्रक्रिया केही दिनका लागि सारिएको बताउनुभयो ।

शीर्ष नेताको बैठकमा एमालेले भरतपुर महानगरपालिकाको निर्वाचन सन्दर्भमा निर्वाचन आयोगको निर्णय गलत भएको भन्दै प्रधानमन्त्री चयन प्रक्रियामा अवरोध गर्ने बताएको थियो ।

मुलुकको कार्यकारी चयनको विषयमा सदन नै अवरोध गर्ने विषय संसदीय मूल्य एवम् मान्यताविपरीत रहेको भन्दै त्यसो नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानमन्त्रीका प्रत्यासी देउवालगायतका नेताले आग्रह गर्नुभएको थियो ।

दुवैपक्षबीच कुरा मिल्न नसकेपछि मध्यमार्गी प्रस्तावका रुपमा प्रधानमन्त्री चयनको मिति सारिएको हो । काँग्रेस नेता एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले प्रधानमन्त्री चयन प्रक्रिया नै रोकिनु पूर्णतः गलत भएको प्रतिक्रिया दिनुभयो ।

स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री चयन प्रक्रिया नै रोकिनु गलत रहेको र त्यसले लोकतन्त्रको मूल्य र मान्यताका पक्षमा काम नगर्ने उहाँको भनाइ थियो । काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सहमतिका आधारमा अगाडि बढौँ भन्ने प्रमुख प्रतिपक्षीको मागलाई सम्बोधन गर्दै प्रधानमन्त्री चयनको प्रक्रिया दुई दिन सरेको बताउनुभयो ।

एमाले नेता सुवास नेम्वाङले भने प्रधानमन्त्री चयनको प्रक्रियाबारेमा प्रमुख प्रतिपक्षीलाई कुनै जानकारी नभएको र सञ्चारमाध्यमबाट थाहा पाएको प्रतिक्रिया दिनुभयो ।

उहाँले सबैको सहमतिमा नै प्रधानमन्त्री चयनको प्रक्रिया दुई दिनलाई सरेको बताउनुभयो । एमालेका वरिष्ठ नेता झलनाथ खनालले पनि आफूहरुकै प्रस्तावमा संसद् बैठक स्थगित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले नै बैठक स्थगित गर्ने प्रस्ताव राख्याँै, दुई दिनसम्म घनिभूत छलफल गर्ने र सहमतिमा पुग्ने भन्ने हाम्रो प्रस्तावअनुसार नै मङ्गलबार १ बजेसम्मका लागि बैठक स्थगित गर्ने निर्णय भएको हो ।” सभामुख घर्तीले कार्यव्यवस्था परामर्श समितिमा सहमतिको लागि गर्नुभएको प्रस्ताव व्यर्थ भएपछि शीर्ष नेताको बैठक बसेको थियो ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिएका बेला प्रधानमन्त्री चयन प्रक्रिया रोक्न नहुने सत्तापक्षको माग तथा आफूहरुको माग सम्बोधन नगरिकन बैठक चल्न नदिने प्रतिपक्षीको अडानका कारण प्रधानमन्त्री चयनको कार्यतालिका प्रभावित भएको हो ।

संसद् सचिवालयले आज ११.०० बजेका लागि प्रधानमन्त्री चयनको कार्यतालिका तय गरेको थियो । दलबीच कुरा मिल्न नसकेपछि बैठक १५.०० बजेका लागि सारियो । संसद् भवन नयाँ बानेश्वरमा दलबीच बहुपक्षीय एवम् सर्वपक्षीय छलफल भएपनि निष्कर्ष निस्कन नसकेपछि मध्यमार्गी रुपमा बैठक नै सारिएको नेकपा (माओवादी केन्द्र) का नेता एवम् ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्री चयनको प्रक्रियामा सक्रिय सहभागी हुन प्रमुख सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले सांसदहरुलाई संसद् भवन नछाड्न कडा निर्देशन दिएको थियो । कार्यतालिका नै प्रवेश नगरी बैठक स्थगित भएपछि सांसदहरु त्यत्तिकै घर फर्कनु परेको थियो ।

शीर्ष नेताको बैठकमा प्रधानमन्त्री दाहाल, काँग्रेस सभापति देउवा, वरिष्ठ नेता पौडेल, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता खनाल, नेताहरु माधवकुमार नेपाल, वामदेव गौतमलगायतको सहभागिता रहेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot