Logo

मेडिकल शिक्षामा जथाभावी शुल्क नलिन सर्वोच्चको अन्तरिम आदेश



काठमाडौँ, २२ जेठ । सर्वोच्च अदालतले मेडिकल शिक्षाको ‘पोस्ट ग्य्राजुएसन’ मा जथाभावी शुल्क नलिन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मेरिट र खुला काउन्सिलिङका आधारमा विद्यार्थी भर्ना गर्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको आदेशका कारण त्रिभुवन विश्वविद्यालय र चिकित्साशास्त्र अध्ययन संस्थानको निर्देशनको अवज्ञा गरी मनोमानी निर्णय गरेका मेडिकल कलेजहरूको कामकारबाहीमा अंकुश लागेको छ ।

उनीहरूले अब विद्यार्थी भर्नामा खुला काउन्सिलिङ र अधिकतम शुल्क मापदण्ड अनिवार्य पालना गर्नुपर्ने भएको छ । सर्वोच्चले तोकिएभन्दा बढी शुल्क नलिनसमेत आदेश दिएको छ । अधिवक्ता देवेन्द्र घिमिरेले कार्यकारी परिषद्सहित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयलाई समेत विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए । निवेदनमा मेरिट र खुला काउन्सिलिङका आधारमा विद्यार्थी भर्ना गर्न र जथाभावी शुल्क लिन नपाउने गरी आदेश जारी गर्न माग गरेका थिए ।

शुल्क निर्धारण र ओपन हाउस काउन्सिलिङ नभएसम्म भर्ना प्रक्रिया अघि नबढाउन त्रिभुवन विश्वविद्यालयले निजी मेडिकल कलेजहरूलाई निर्देशन दिए पनि उनीहरूले मनोमानी निर्णय गर्दै विद्यार्थी भर्ना गरिसकेको जवाफ विश्वविद्यालयलाई पठाएका थिए । कलेज सञ्चालकले नियमको बर्खिलाप गर्दै आफूखुसी निर्णय गरी आईओएमको डिन कार्यालयलाई पत्र पठाएका थिए ।

युनिभर्सल, नेसनललगायत मेडिकल कलेजहरूले आफैंले शुल्कसमेत निर्धारण गरिसकेको सूचित गरेका थिए । डिन कार्यालयले त्रिवि कार्यकारी परिषद्बाट शुल्क निर्धारण भएपछि योग्यताक्रमअनुसार ओपन हाउस काउन्सिलिङबाट छानिएका विद्यार्थीलाई भर्नाका लागि सम्बन्धित कलेज पठाउने योजना बनाएको थियो ।

गत वर्षदेखि लागू त्रिविको सम्बन्धनसम्बन्धी विनियमले कलेज र आईओएमबीचको सम्झौतासमेत खारेज भएको छ । कलेज आफैंले भर्ना लिने, शुल्क तोक्ने अधिकार कटौती भई सम्बन्धन प्राप्त कलेजमा कार्यकारी परिषद्ले शुल्क तोक्ने व्यवस्था छ ।

विश्वविद्यालयले लिएको प्रवेश परीक्षाको योग्यताक्रमका आधारमा मात्र विद्यार्थी भर्ना लिनुपर्ने व्यवस्था छ । आईओएमले योग्यता क्रम (मेरिट) का आधारमा विद्यार्थी भर्ना गर्न यस पालिदेखि स्नातकोत्तर तहमा पनि ओपन हाउस काउन्सिलिङ प्रक्रिया अवलम्बन गर्न लागेको हो ।

यो प्रक्रियामा योग्यता क्रममा माथि रहेका विद्यार्थी भेला गरेर जसको बढी अंक छ, उसलाई कुन विषय कहाँ पढ्ने रोज्न लगाइन्छ । योग्यता क्रममा माथि रहेका विद्यार्थीले छनोट गरेपछि बाँकी विषय र कलेजमात्र अन्य विद्यार्थीले छनोट गर्न पाउँछन् । आईओएमको यो प्रक्रियाले विद्यार्थी छनोट पारदर्शी बनाउने प्रयासलाई कलेज सञ्चालकले विरोध गरेका छन् । यसअघि नै सर्वोच्चले सरकारले तोकेको शुल्कभन्दा बढी लिन नपाइने मान्यता स्थापित गरिदिएको थियो । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले सरकारले तोकेभन्दा बढी शुल्क लिन नपाइने, मेडिकल काउन्सिलले तोकेको सिटभन्दा बढी भर्ना लिन नपाइने निर्णय सुनाएको थियो । (आजको कान्तिपुर दैनिकमा लेखिएको समाचार)

 



प्रतिक्रिया दिनुहोस्

Screenshot