Logo

बिम्स्टेक स्थापना : विद्यमान तथा नयाँ चुनौती सामना गर्न साझेदारीमा प्रधानमन्त्रीको जोड



काठमाडौँ,२३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) लाई आफ्नो कदम र गतिविधिबाट क्षेत्रीय एकीकरणबाट प्राप्त सफलताका लागि शुभकामना दिएका छन् ।

बिम्स्टेक स्थापनाको बीसौँ वार्षिकोत्सवका उपलक्ष्यमा सन्देश दिँदै उनले दुई दशकको अनुभवले हामीलाई हाम्रो आपसी लाभका लागि क्षेत्रीय सहयोग र साझेदारी प्रवद्र्धन गर्न अझै प्रयास गर्नुपर्ने अवगत गराएको बताए ।

बिम्स्टेक राष्ट्रहरुसँग प्रचुर प्राकृतिक स्रोत, उत्साही जनसङ्ख्या र विविध सांस्कृतिक सम्पदा रहेको औँल्याउँदै उनले यस क्षेत्रसँग निकट अन्तरक्षेत्रीय सम्पर्कका लागि गहन सम्भाव्यता रहेको पनि उल्लेख गरे ।

उनले भने–“यस क्षेत्रमा अझै व्यापक गरिबी, बढ्दो असमानता, अशिक्षा र रोग विद्यमान छन्, जलवायु परिवर्तन र प्राकृतिक विपद्जस्ता चुनौती छन्, विद्यमान तथा नयाँ चुनौती सामना गर्न हामीहरुसँग अझ बढी साझेदारी र सहयोग हुनुपर्छ ।”

प्रधानमन्त्रीले गत वर्ष असोज ३० गते भारतको गोवामा भएको ब्रिक्स–बिम्स्टेक नेताहरुको रिट्रिटमा गरिएका प्रतिबद्धता स्मरण गर्दै बिस्टेक ‘कामको कार्यसूची’ले हाम्रो सामूहिक प्रगति र समृद्धिका लागि प्राकृतिक एवम् मानव संसाधन उपयोग गर्न स्पष्ट निर्देशन गरेको औँल्याए ।

नेपालमा हुने चौथो बिम्स्टेक शिखर सम्मेलनमा यसका प्रगतिमाथिको समीक्षाको अवसर प्राप्त हुने पनि उनले बताए ।

यसै उपलक्ष्यमा परराष्ट्रमन्त्री प्रकाशशरण महतले एक सन्देश दिँदै यस क्षेत्रको शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन् ।

उनले बिम्स्टेक राष्ट्रका नेताहरुले आफूहरुलाई बिम्स्टेक २०३० कार्यसूची विकास गर्न, बिम्स्टेक सम्पर्कका लागि गुरुयोजना बनाउन, बिम्स्टेक ऊर्जा व्यापार विस्तार गर्न, बिम्स्टेक व्यापार सहजीकरण सम्झौता र भन्सारसम्बन्धी आपसी सहायता सम्झौता तथा बिम्स्टेक स्वतन्त्र व्यापार क्षेत्र वार्तालाई अगाडि बढाउन जिम्मेवारी दिएको उल्लेख गर्दै व्यापार, लगानी, यातायात र ऊर्जा क्षेत्रमा हुने क्षेत्रीय सहयोग अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । रासस



प्रतिक्रिया दिनुहोस्