Logo

मानवाधिकारको प्रयोग गर्दा व्यक्ति सभ्य र अनुशासित हुनुपर्छ’



नगरकोट, २३ जेठ । नेपाल मानव अधिकार सङ्गठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्यालले आफ्नो मानवाधिकार प्रयोग गरिँदा अन्यको अधिकार हनन हुन नहुने बताउनुभएको छ ।

नेपाल मानवअधिकार सङ्गठन भक्तपुर र काभ्रे जिल्ला शाखाको संयुक्त आयोजनामा सोमबार भक्तपुरमा आयोजित एकदिने मानवाधिकार शिक्षा कार्यक्रमको उद्घाटन गर्दै अर्यालले मानवाधिकारको प्रयोग गर्दा हामी आफँै सभ्य र अनुशासित हुनुपर्छ भन्नुभयो ।

सङ्गठनका केन्द्रीय महासचिव महामुनीश्वर आचार्यले मानवाधिकार आन्दोलनलाई सशक्त ढङ्गले अघि बढाउन मानवाधिकारकर्मी आफैँ पनि सचेत र सुसूचित हुनुपर्नेमा जोड दिनुभयो ।

सङ्गठनका भक्तपुर शाखाका सभापति रामकृष्ण मानन्धर, सल्लाहकार प्रा पृथुचरण वैद्य, काभ्रे शाखाका सचिव राजु सिग्देल, नेपाल बार एसोसिएसन भक्तपुरका अध्यक्ष देवेन्द्र श्रेष्ठ, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक भीमसेन अधिकारीलगायतले आफ्नो अधिकारको माग र सदुपयोग गर्दैगर्दा समाज र राज्यप्रति आफ्नो दायित्व र कर्तव्य भुल्न नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा सङ्गठनका केन्द्रीय सदस्य एवम् प्रशिक्षक डा चिरञ्जीवी भट्टराई र अधिवक्ता हरिराम लबजूले मानवाधिकारको विश्वव्यापी मूल्य र मान्यता, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनमा मानवाधिकारसम्बन्धी व्यवस्थालगायत विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा भक्तपुर र काभ्रेपलाञ्चोकका मानवाधिकारकर्मीसँगै सुरक्षाकर्मीको सहभागिता थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot