Logo

प्रचण्डले भने,‘देउवाजी भिन्दै परिवेशमा आज प्रधानमन्त्री बन्नुभएको छ’



काठमाडौं, २३ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा आज भिन्दै परिवेशमा प्रधानमन्त्री बनेको बताएका छन् ।

उनले भने,‘पहिला ज्ञानेन्द्रले कहिले फाल्ने कहिले ल्याउने प्रधानमन्त्री बन्नुभएको छैन ।उहाँ भिन्दै परिवेशमा बन्नुभएको छ।उहाँ राजा महारजाबाट आत्तिनुभएको छ त्यसैले उहाले यो व्यवस्थापनलाई सफल पार्न प्रयास गर्नुहुनेछ।’

उनले आफूले एमालेका तीन जना नेतालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको उल्लेख गर्दै भने,‘मैले झलनथा खनाल र केपी ओलीलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरे।कांग्रेसलाई प्रस्ताव गरेको यो पहिलो अवसर हो ।नेपाली कांग्रेसले सबैलाई मिलाएर लग्यो भने सहमतिको वातावरण बन्छ । ठुलो पार्टीको नेतृत्वमा सबै समेटीनु पर्छ ।नेपाली कांग्रेसले मलाई गुन लगायो मैले पनि गुन तिरेको छु । ठुलो पार्टीको नेता प्रधानमन्त्री बन्दै हुनुहुन्छ ।’

नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदको बैठक सुरु भएको छ । अहिले प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाले आफ्नो धारणा राखिरहेका छन् । उनी प्रधानमन्त्रीका एक्ला उम्मेदवार हुन् र देउवाको पक्षमा झण्डै दुई तिहाई मत देखिएको छ ।

तर, संसद नियमावली अनुसार एक मात्र उम्मेदवार भएपनि निर्विरोध घोषणा गर्न मिल्दैन । त्यसैले देउवाका प्रस्तावक, समर्थकले बोल्ने र देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।

प्रधानमन्त्रीमा निर्वाचित हुने कुल सदस्य संख्या ५९३ को बहुमत अर्थात २९७ मत प्राप्त हुनुपर्छ । कांग्रेस सभापति देउवाको पक्षमा झण्डै दुई तिहाई समर्थन देखिएको छ । देउवा सभापति रहेको कांग्रेसका २०६ सांसद छन् भने माओवादी केन्द्रका ८१, राप्रपाका ३७, फोरम लोकतान्त्रिकका १६ र फोरम नेपालका १५ सांसद छन् । यस्तै २४ सांसद रहेको राष्ट्रिय जनता पार्टीले पनि देउवालाई समर्थन गरेको छ ।

तीन सांसद भएको नेकपा संयुक्त, एक/एक सांसद भएका अखण्ड नेपाल र समाजवादी जनता दल देउवाको उम्मेदवारीमा समर्थक नै बसेका छन् ।



प्रतिक्रिया दिनुहोस्