Logo

वैदेशिक रोजगारका समस्यालाई चाँडो समाधान गर्छु : श्रममन्त्री मन्सुर



काठमाडौँ, २४ जेठ । श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरले वैदेशिक रोजगारको क्षेत्रका देखिएका समस्यालाई चाँडो समाधान गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभएको छ ।

आज मन्त्रालयमा पदबहाली गर्दै नवनियुक्त मन्त्री मन्सुरले खाडी मुलुकको समस्या समाधानका लागि आफूले सक्ने काम आफूले गर्ने र नभए मन्त्रिपरिषद्को बैठकमा लगेर भए पनि समाधान गर्ने बताउनुभयो ।

मन्त्री मन्सुरले संविधानको अधीनमा रही जनताको सेवा गर्ने काम आफ्नो कार्यकालको प्रमुख प्राथमिकता हुनेसमेत बताउनुभयो ।

उहाँले आफू जनताको प्रतिनिधिको हैसियतले मन्त्री बनेको बताउँदै जनतालाई सेवा पु¥याउने काममा लाग्न कर्मचारीलाई आग्रह गर्नुभयो । साथै उहाँले पारदर्शी तरिकाले काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिनुभयो ।

विसं २०११ मा बारा जिल्लाको भवानीपुर वडा नं ३ मा जन्मनुभएका मन्सुर १६ वर्षको उमेरमा नेपाल विद्यार्थी सङ्घको राजनीतिमा लाग्नुभएको थियो । विसं २०२८ मा भारतको पटनामा विश्वेश्वरप्रसाद कोइरालाको हातबाट नेपाली काँग्रेसको सदस्यता लिनुभएका मन्सुर विसं २०३४ देखि ०३६ सम्म काँग्रेस बाराको सहसचिव बन्नुभएको थियो ।

विसं २०३६ देखि २०४७ सम्म जिल्लाको सचिव, २०४८ देखि २०५७ पार्टी सभापति हुँदै विसं २०५७ मा काँग्रेसको दशौँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्नुभएको थियो ।

पटकपटक जेल पर्नुभएका उहाँ विसं २०५६ मा भएको आमनिर्वाचनमा बारा क्षेत्र नं ४ बाट प्रतिनिधिसभाको सदस्य चुनिनुभयो ।

यस्तै, विसं २०७० मा भएको दोस्रो संविधानसभाबाट सभासद् बन्नुभएका उहाँ विसं २०६४ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको विज्ञान तथा प्रविधिमन्त्री बन्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्