Logo

विश्वविद्यालयका प्राध्यापक आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने



काठमाडौँ, २५ जेठ । पूर्वाञ्चल विश्वविद्यालयमा लामो समयदेखि कार्यरत प्राध्यापक र कर्मचारी एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने भएका छन् ।

प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा आज सिंहदरबारमा बसेको विश्वविद्यालयको २७ औँ विशेष सभाले ती कर्मचारीलाई एकपटकका लागि आन्तरिक प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो । विगत १७ वर्षदेखि विश्वविद्यालय सेवा आयोग नखुल्दा कर्मचारीको वृत्तिविकासका काम हुन सकेको थिएन । जसका कारण ३०० भन्दा बढी कर्मचारी अस्थायीमा कार्यरत छन् ।

उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति गोपालमान श्रेष्ठले वर्षांैदेखि समस्यामा रहेका कर्मचारीकोे समस्या समाधान गर्न सभाले आन्तरिक प्रतिस्पर्धाको निर्णय गरेको घोषणा गर्नुभयो ।

“विश्वविद्यालयमा प्राविधिक तथा व्यावसायिक शैक्षिक कार्यक्रम लागू हुनुपर्छ, विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको बनाइनुपर्छ, विदेशमा अध्ययन गर्न जानेलाई रोक्न स्वदेशका विश्वविद्यालय सक्षम हुनुपर्छ, विदेशीलाई पनि अध्ययनका लागि नेपालमा आकर्षित गरिनुपर्छ”–उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको सक्रियतामा मोरङको गोठगाउँमा ८०५ बिगाहा जमिन प्रदान भई सो विश्वविद्यालय स्थापना भएको थियो ।

कार्यक्रममा सांसद एवम् विश्वविद्यालय सभाका सभासद्हरु डा मीनेन्द्र रिजाल, डा शेखर कोइराला र चन्द्रबहादुर गुरुङ, उपकुलपति प्रा डा घनश्यामलाल दास, विश्वविद्यालय सेवा आयोगका अध्यक्ष बद्रीनारायण श्रेष्ठ, नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायलगायतले शैक्षिक योग्यता र कार्य दक्षताका आधारमा कार्यरत कर्मचारीको वृत्तिविकास हुनुपर्नेमा जोड दिनुभएको थियो । रासस (तस्बिर र श्रव्य सामग्री उपलब्ध छ)



प्रतिक्रिया दिनुहोस्

Screenshot