Logo

कांग्रेस नगर सभापति र सचिव माओवादी केन्द्रमा प्रवेश



काठमाडौं, जेठ २५ । नेपाली कांग्रेस बेलौरी नगरपालिकाका पार्टी सभापति रामलाल राना र सचिव बिक्रम चन्द बिहीबार एक कार्यक्रमका बीच ने.क.पा. (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ ।

बिहीबार बेलुका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक कार्यक्रमका बीच राना र चन्दलाई माओवादी केन्द्रमा प्रवेश गराउनुभएको हो । कांग्रेस सभापति राना महाकाली उच्च माविको सञ्चालक समितिको चौंथो कार्यकालको अध्यक्ष, बेलौरी नगरको पूर्व सभापति र थुप्रै राजनीतिक एवं सामाजिक संगठनहरुको नेतृत्वमा हुुनुहुन्थ्यो । त्यसै गरी चन्द सुदुरपश्चिमका युवाहरु बीच लोकप्रिय नेता हुनुहुन्छ ।

पार्टी प्रवेश गराउँदै पूर्वप्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभयो, ‘तपाईहरु सही समयमा सही पार्टी छनोट गरेर माओवादी केन्द्रमा आउनुभएको छ । मेरो विश्वास छ, तपाईहरुको पार्टी प्रवेशले कञ्चनपुर र सात नम्वर प्रदेशमा माओवादी केन्द्रको विजयलाई अझै सुनिश्चित गराएको छ । परिवर्तनका मुद्धाहरुका लागि संघर्ष गर्ने र कार्यान्वयन गर्ने पार्टी हुनुको नाताले पार्टीले तपाईहरुको भावना र योगदानको कदर गर्नेछ । अब सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गरेर तपाईहरुको योगदानले सही नतिजा निकाल्नेछ भन्ने मेरो विश्वास छ ।’

पार्टी प्रवेश गर्दै रानाले माओवादी पार्टी नै हिमाल, पहाड र तराई–मधेशलाई जोड्न सक्ने र देशको नेतृत्व गर्ने पार्टी भएकाले आफू निस्वार्थ रुपमा माओवादी केन्द्रमा आएको बताउनु भयो । पार्टी प्रवेश कार्यक्रममा बेलौरी नगरका कांग्रेस वडा सभापति र स्थापित नेताहरु यस अघि नै माओवादी केन्द्रमा प्रवेश गरिसकेको माओवादी केन्द्रकी नेतृ बिना मगरले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot