Logo

अहिले काँग्रेसभित्र जो मन्त्री भए पनि केवल काँग्रेस हो : फरमुल्लाह मन्सुर (मन्त्री – श्रम तथा रोजगार)



श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरसँग पत्रकार ऋषि धमलाले मन्त्रिमण्डल विस्तार, राजपा नेपाललाई कसरी चुनावमा सहभागिता गराउने, पार्टीभित्रको कलहलाई कसरी हल गर्ने लगायतका विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश :

राजपा नेपालले संविधान संशोधनविना निर्वाचनमा भाग लिँदैनौं भनिसक्यो सरकारले के छ ?

राजनीतिमा विश्वासको कुरा हुन्छ । प्रधानमन्त्री छान्ने निर्वाचनमा उहाँहरूले भाग लिनुभएको छ र त्यही भन्नुभएको थियो, तराईका माग सम्बोधन गर्नेछु, अहिलेको आवश्यकता निर्वाचन हो, निर्वाचनमा सबैको सहभागिता हुनु आवश्यक छ । यति भनेको अवस्थामा उहाँहरूले विश्वास गर्नुपरेन ?

असार १४ गतेको दिनमा दोस्रो चरणको निर्वाचन गर्न सक्छ सरकारले ?

किन नसक्ने ? सक्छ नि । यसमा सरकार कटिबद्ध छ । तीन सय ८८ मतले प्रधानमन्त्री बन्नुभएको छ । यो नै काम गर्ने आधार हो । हामी मुलुकको हितको लागि काम गर्नेछौँ ।

शेरबहादुर देउवाको सरकारले संविधान कहिले संशोधन गर्छ ?

हामी त्यसैको लागि एक ठाउँमा उभिएका छौँ । संविधानको स्वीकार्यतालाई बढाउनको लागि हामी लागिपरेका छौँ । तराईवादी दलका नेताका माग, जनताका माग त्यसैगरी उत्पीडित जनजातिका मागबारे हामी संवेदनशील छौँ । अरुले के भन्छन्– त्यता नजानुस् ।

दोस्रो चरणको निर्वाचन तोकिएको समयमा नगरे यो सरकारको औचित्य सकिन्छ नि ?

तपाईं कुन डरले यो प्रश्न गर्दै हुनुहुन्छ ? यो सरकार बनेको नै स्थानीय तह, प्रेदश र केन्द्र सभाको निर्वाचन गरेर मुलुकलाई निकास दिन हो । मैले राजपा नेपालका नेता साथीसँग कुरा गरेको छु । सबैलाई मिलाएर अघि जानुपर्छ भनेर हामी लागिरहेको बेला नकारात्मक कुरातर्फ जानुहुँदैन ।

यदि असार १४ गते निर्वाचन हुन सकेन भने तपाईं मन्त्रीबाट राजीनामा दिनुहुन्छ ?

अरे बा । निर्वाचन हुन्छ । काँग्रेसको नेतृत्वमा सरकार बनेको नै संविधान कार्यन्वयन गर्नको लागि त हो । सबैलाई विश्वासमा लिएर निर्वाचनमा जान्छौँ ।

अरुलाई त मिलाउने भन्नुहुन्छ, काँग्रेसभित्रकै अर्को पक्षलाई मिलाउन नसक्नेले देश मिलाउन सक्छ ?

एउटा कुरा सन्तानले अभिभावकसँग साइकल किनिदिन भन्छ । तत्काल अभिभावकले साइकल किनेर दिन सकेन भने त्यो सन्तान रिसाउँछ । जब त्यसलाई ‘गार्जेन’ले साइकल किनेर दिन्छ अनि सन्तान खुसी हुन्छ । काँग्रेसलाई तपाईंले बुझ्नुभएको नै छैन ।

रामचन्द्र पौडेल पक्षलाई मन्त्रिमण्डलमा ल्याउन सक्नुभएको छैन नि ?

रामचन्द्र को हो ? उहाँ काँग्रेस वरिष्ठ नेता होइन ? अहिले काँग्रेस भित्र जो मन्त्री भए पनि केवल काँग्रेस हो ।

काँग्रेस भित्र कति गुट छन् ?

सबैभन्दा पहिले बुझ्नुस्– काँग्रेस एउटा घर हो । एउटा घरभित्र कति परिवार हुन्छ ? आमाबुबा, छोराछोरी बुहारी अन्य सन्तान पनि हुन्छन् । त्यसैले म तराईबाट आएको छु । मैले धोती लगाउँछु । अर्को नेता अर्कै पोशाकमा आउनुहुन्छ । त्यो के फरक भयो र ? कोही कालो अनि कोही गोरो छ । जो जस्तो भए पनि सबै काँग्रेस हुन् ।

काँग्रेस अहिले पनि भागबन्डाको आधारमा चलेको छ भन्छन् ?

परिवारमा सबै जना हुन्छन् । यी सबै कुरालाई गुट नभन्दा हुन्छ ।

काँग्रेसमा बुढानीलकण्ठ र बोहराटारको मात्रै चर्चा हुन्छ नि ?

नेताहरुका घर त्यहाँ छन् । त्यसैले त्यहाँको चर्चा हुन्छ । जहाँ पनि नेता बस्ने ठाउँको चर्चा त भइहाल्छ नि ।

अन्तर्कलहको अन्त्य हुन्छ उसो भए ?

तपाईं यसबारे चिन्ता नलिनुस् । काँग्रेसका नेताबीच केही मतभेद रहे पनि राष्ट्रका लागि सबै त्यागेर लाग्नुहुन्छ । काँग्रेसले लोकतन्त्रको लागि जुन लगानी गरेको छ– त्यही पाठ सिकेर अघि बढेका नेता छन् । काँग्रेसलाई मिलाएर लिने क्षमतामा सभापति हुनुहुन्छ ।

मन्त्रिपरिषद्मा महिलालाई सहभागी गराउन सक्नुभएन नि ?

यो पूर्ण मन्त्रिमण्डल होइन । अझै महिला दलित, अन्य साथी सरकारमा आउन बाँकी छ । त्यसपछि पनि देखिएन भने भन्नुहोला । हाम्रो दलको सभापति तथा मुलुकको प्रधानमन्त्री हुनुहुन्छ । उहाँ योग्य नेता हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot