Logo

मधेसीको माग पूरा नभएसम्म कुनै निर्वाचन हुन नदिने महतोको चेतावनी



सप्तरी (राजविराज), २६ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेस र मधेसीको माग पूरा नभएसम्म कुनै हालतमा स्थानीय तहलगायत अन्य निर्वाचन हुन नदिने चेतावनी दिनुभएको छ ।

राष्ट्रिय जनता पार्टीद्वारा आज राजविराजको गजेन्द्र चोकमा आयोजित बृहत् विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष महतोले विगतका सरकारले मधेसवादी दलहरुसँग गरेको सम्झोता थाती राखेर कुनै पनि हालतमा निर्वाचनमा जान नसक्ने अडान दो¥याउनुभएको छ ।

मधेस आन्दोलनको क्रममा मधेसमा सहिद भएका मधेसी कार्यकर्ता र घाइते भएकाको सपना पूरा गराउन मधेसवादी नेताले त्यो त्याग र बलिदान बिर्सन नहुने स्मरण गराउँदै आफ्ना सयौँ कार्यकर्तामाथि लागेको झुठा मुद्दा फिर्तासहित परिवारलाई क्षतिपूर्ति र मधेस विरोधी संविधान संशोधन नभएसम्म निर्वाचनमा नजानेतर्फ सचेत रहन कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो ।

सोही पार्टीका अर्का अध्यक्ष राजकिशोर यादवले सरकारले बल प्रयोग गरेर तराईमा स्थानीय तह निर्वाचन गराएमा ठूलो दुर्घटना हुनसक्ने चेतावनी दिनुभयो ।

सोही पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमारसिंह यादवले नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) पार्टीमा रहेका मधेसी नेता मधेसको अधिकारका लागि एकै ठाउँमा आउनुपर्ने आग्रह गर्नुभयो ।

सोही पार्टीका महासचिव मनिषकुमार सुमनले मधेसीलाई अधिकार नदिए देश द्वन्द्वमा फस्ने चेतवनी दिनुभयो । कार्यक्रम सो पार्टीका जिल्ला संयोजक सुनिलकुमार झाको अध्यक्षतामा भएको थियो ।

उक्त कार्यक्रममा एमाले, काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट परित्याग गरी सो पार्टीमा प्रवेश गर्ने ३०० कार्यकर्तालाई अध्यक्ष महतोले फूलमाला लगाएर स्वागत गर्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot