Logo

पूर्वराष्ट्रपति यादवद्वारा ‘सिंहदरबार’ नामक पुस्तक



काठमाडौँ, २६ जेठ । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालको प्राचीन इतिहासमा गोपालवंशदेखि लिच्छबी, मल्ल, शाहवंशसम्म आइपुग्दा देशको गौरव निकै बढेको बताउँदै वर्तमान युवा पुस्तामा नेपालको इतिहास र भूगोलका बारेमा अध्ययन गर्ने व्यक्तिको सङ्ख्या विस्तारै ह्रास हुँदै गएको बताउनुभएको छ ।

नेपाल कला परिषद्का उपाध्यक्ष सागर शम्शेर जबराले लेख्नुभएको ‘सिंहदरबार’ नामक पुस्तकको आज यहाँ लोकार्पण गर्दै डा यादवले अध्ययनको अभावका कारण युवापुस्तालाई नेपालको महत्वपूर्ण इतिहास र भूगोलका बारेमा ज्ञान नभएको बताउनुभयो ।

नेपालको निर्माणदेखि देशको रक्षाका लागि हाम्रा पुर्खाले कसरी सङ्घर्ष गरे भन्ने कुरा इतिहासबाट सिक्न सकिने बताउँदै उहाँले १०३ वर्ष लामो राणा शासन, त्यस बेलाको समाज, प्रजापरिषद् आदिको ज्ञान इतिहासको अध्ययनबाट प्राप्त हुने बताउनुभयो ।

पुस्तकका लेखक सागर शम्शेर जबराले पुस्तक राणा परिवारका बारेमा लेखिएको भए पनि ५० प्रतिशत अंश नेपाली काँग्रेसको राणा विरोधी बनारस तथा कलकत्ता आन्दोलनसँग सम्बन्ध रहेको चर्चा गर्नुभयो ।

राजनीतिक विश्लेषक प्रदीप गिरीले प्रजातन्त्रमा जनताले चुनेको व्यक्तिको हातमा सरकार हुनेगरेको र हालसम्मको प्रजातान्त्रिक कार्यान्वयनको पाटो अध्ययन गर्दा जनताले सन्तोष लिने ठाउँ नभएको चर्चा गर्नुभयो ।

सो पुस्तकमा राणा शासनको उदय र पतनका बारेमा विस्तृत चर्चा परिचर्चा गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot