Logo

राष्ट्रिय अनुसन्धान विभागलाई गृहमन्त्रीको निर्देशन



काठमाडौँ, २६ जेठ । गृहमन्त्री जनार्दन शर्माले राज्यको अनुसन्धान निकाय कमजोर भए राज्य कमजोर हुने भन्दै राष्ट्रिय अनुसन्धान विभाग (राअवि) लाई सशक्त बनाउन निर्देशन दिनुभएको छ ।

आज विभागको निरीक्षणका क्रममा मन्त्री शर्माले विभागका काम कारबाहीलाई प्राथमिकीकरण गरी परिवर्तित प्रविधिलाई आत्मसात् गर्दै राष्ट्रिय सुरक्षामा सहयोग पुग्ने सूचना सङ्कलन, विश्लेषण र मूल्याङ्कनसहित सम्पे्रषण गर्न विभागीय अधिकृत तथा कर्मचारीलाई निर्देशन दिनुभयो ।

उहाँले विभागका कर्मचारीको व्यावसायिक दक्षता र क्षमतामा अभिवृद्धि गरी कार्यगत विशिष्टीकरण गर्ने र विभागलाई राज्यको आवश्यकताअनुरुप सबल र सुदृढ बनाउन ऐन, नियम समयानुकूल परिवर्तन गर्न आफू र सरकारले पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो क्रममा विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मीले विभागले हाल सम्पादन गर्दै आएका कामकारबाही, भावी योजना र अपेक्षाका विषयमा गृहमन्त्रीलाई जानकारी गराउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot