Logo

हिमाल, पहाड र तराई–मधेश माओवादीले मात्रै जोड्न सक्छ : प्रचण्ड



काठमाडौं, जेठ २७। पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले मात्रै हिमाल, पहाड र तराई–मधेशलाई जोडेर राष्ट्रिय एकता कायम गर्नसक्ने बताउनु भएको छ ।

शनिबार बिहान प्युठान, सिन्धुपाल्चोक र कञ्चनपुर जिल्लाबाट बिभिन्न पार्टी परित्याग गर्दै माओवादी केन्द्र प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र मात्रै राष्ट्रिय एकताको नेतृत्वकर्ता पार्टी भएको बताउनुभएको हो ।

कार्यक्रममा प्रचण्डले भन्नुभयो, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्याय, समानुपातिक–समावेशी सिद्धान्त, विकास, समृद्धि, राष्ट्रिय एकता र छिमेकीसँगको सन्तुलित सम्बन्ध माओवादी आन्दोलनका उपलब्धि हुन् ।

माओवादीले मात्रै हिमाल, पहाड र तराई–मधेशलाई जोडेर साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्ने सामथ्र्य राख्दछ । आज तपाईहरु पूर्वदेखि पश्चिम सम्मका विभिन्न पार्टीमा क्रियाशील रहेका नेता साथीहरु माओवादी केन्द्रमा आउनुभएको छ । यसले पनि माओवादी पार्टी मात्रै राष्ट्रिय एकताको केन्द्र हो भन्ने कुरा पुष्टि हुँदैछ ।’

परिवर्तनका मुद्धाहरु सम्बोधन गर्न माओवादी मात्रै सक्षम रहेको बताउँदै प्रचण्डले भन्नुभयो, ‘माओवादी बिना न त परिवर्तन सम्भव छ, न त समृद्धि र विकास नै । यो तथ्य फेरि एकचोटी पुष्टि भएको छ । कार्यक्रममा अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोक, कञ्चनपुर र प्युठान जिल्लाबाट बिभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई स्वागत गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot