Logo

जनता आवासको काम द्रूतगतिमा



पथरी (मोरङ), २७ जेठ । मोरङ डाइनिया प्रगति टोलका २४ वर्षीय ललन सरदार निक्कै खुसी देखिन्छ । नयाँ घर बनाउन सरकारले खर्च दिने भएपछि उहाँ खुसी हुनुभएको हो ।

डाइनिया मात्रै होइन, रङ्गेली नगरपालिकाको आँप गाछीका बाँतर समुदायका मानिस पनि निक्कै खुसी छन् । आँपगाछीका बलीतलाल बाँतर पनि सरकारले नयाँ घर बनाउन पैसा दिन थालेपछि खुसी भएका छन् ।

उहाँले भन्नुभयो,– “हामी गरिब छाँै तर सरकारले घर बनाउन पैसा दिन थालेपछि राम्रो भयो” । उहाँमात्र होइन मोरङको आँपगाछीमा ५०, डाइनियामा ४०, कदमाहा ५०, सौराभाग ५० , हात्तीमुडा ५०, डग्राहा ७५ लगायतका स्थानमा घर निर्माण भइरहेकाले लक्षित समुदाय निक्कै खुसी छन् ।

डङ्ग्राहाका मुखानीदेवी सरदारले भन्नुभयो, “सरकारलाई धन्यवाद छ, हामीलाई घर बनाउन पैसा दिइरहेको छ ।” जनता आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनी रहेका मोरङ र सुनसरीका सरदार र विपन्न समुदायलाई सरकारले घर बनाउन रकम दिने भएपछि ती समुदायका व्यक्ति अहिले खुसीले गदगद भएका छन् ।

मोरङ र सुनसरीका विभिन्न निर्वाचन क्षेत्रमा एक हजार ६०० घर निर्माण भइरहेको छ । सो कार्यक्रम सञ्चालन गर्न सांसद अमृत आर्यलको संयोजकत्वमा १३ सदस्य कार्यसमिति रहेको जनता आवास जिल्ला समन्वय समिति बनेको छ । समितिका सदस्यमा सांसद ऋषिकेश पोखरेल, सांसद अमनलाल मोदी, मोरङका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, नापी र मालपोत कार्यालयका प्रमुख छन् ।

सांसद्को संयोजकत्वमा घर निर्माणको काम भइरहेकाले सो काम समयमै सम्पन्न हुनेमा सो क्षेत्रका मौना बाँतरले बताउनुभयो । कतै निर्माण सुरु भएको छ भने कतै निर्माणको कामले गति लिएको छ । जनता आवास निर्माणका लागि सुनसरी मोरङमा रु १८ करोड ५९ लाख बजेट छुट्याएको छ । यी दुई जिल्लामा एक हजार ६०० आवास निर्माण गर्नुपर्ने छ ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यलय मोरङका प्रमुख श्याम किशोर सिंहले जनता आवसको काम द्रूतगतिमा भइरहेको बताउनुभयो ।
“घर बनाउने काम द्रूतगतिमा भइरहेको छ,” उहाँले भन्नुभयो– “समयमै यो काम सम्पन्न हुन्छ ।” रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot