Logo

किन आउँदैछन् भारतीय प्रधानमन्त्री मोदी नेपाल ?



लुम्बिनी, जनकपुर र मुक्तिनाथको भ्रमण गर्ने 

नयाँ दिल्ली, २७ जेष्ठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउने भएका छन् ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा भारतीय अधिकारीहरुले प्रधानमन्त्री मोदी छिट्टै नेपाल आउनेबारे जानकारी गराएका हुन् । मोदीको भ्रमणको लागि नेपाल र भारत दुवै तर्फबाट आन्तरिक गृहकार्य समेत भैरहेको भारतीय उच्च अधिकारीहरुले जनाएका छन् ।

दुवै पक्षको सहमतिमा मोदीको नेपाल भ्रमणको मिति तय हुने पनि स्रोतले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदी भारतीय लगानीमा निर्माण हुने अरुण तेस्रो जलविद्युत परियोजनाको उद्धघाट्नको लागि नेपाल आउन लागेका हुन् । उक्त समयमा मोदीले जनकपुर, लुम्बिनी र मुक्तिनाथको समेत भ्रमण गर्ने भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले जनाए ।

उनका अनुसार मोदीको नेपाल भ्रमणको तयारी लागि दुवै पक्षबाट अहिले व्यापक गृहकार्य भैरहेको छ । ‘मोदीजी नेपाल–भारत सम्बन्ध अत्यन्तै समुधुर र मजबुद बनाउने पक्षमा हुनुहुन्छ’–उनले भने,‘उहाँले नेपाललाई विशेष महत्व दिनुभएको छ, नेपाल–भारत द्धिपक्षीय आर्थिक सम्बन्ध थप मजबुद बनोस् भन्ने उहाँको चाहना छ।’

यसअघि भारतीय प्रधानमन्त्री मोदीले दुई पटक नेपाल भ्रमण गरिसकेका छन् । पहिलो पटक उनले सन् २०१४ को अगष्टमा नेपाल भ्रमण गरेका थिए। दोस्रो पटक मोदी १८ औं सार्क सम्मेलनमा भाग लिनका् लागि नेपाल आएका थिए ।

संखुवासभामा बन्न लागेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण केही महिनाभित्रै सुरु हुने भएको छ। आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी एसजेभिएन (सतलज) ले आगामी सेप्टेम्बरबाट निर्माणको काम सुरु गर्नेछ । राष्ट्रिय गौरवको आयोजनासमेत रहेको अरूण तेस्रोको शिलन्यास समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने गरी तयारी भइरहेको सतलजले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्