Logo

निर्वाचनमा सहभागी हुन यादव र भट्टराईको आग्रह



काठमाडौँ, २८ जेठ । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी हुन सबै दल तथा समूहलाई आग्रह गरेको छ ।

समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले आज विज्ञप्तिमार्फत राष्ट्रिय जनता पार्टी नेपाललगायत सबै समूहलाई निर्वाचनमा सहभागी हुन आग्रह गरेको हो ।

संविधानलाई अधिकतम स्वीकार्य बनाउन संविधान संशोधनलगायतका विषयमा नेपाल सरकार र आन्दोलनरत दलबीच भएका सहमतिलाई कार्यान्वयन गर्ने, मधेस तथा थरुहटमा भएको जनविद्रोहका क्रममा शहादतप्राप्त सबै व्यक्तिलाई सहिद घोषणा गर्दै बन्दीको रिहाइ गर्न सरकारसँग माग गरिएको छ ।

आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै पहिचान र अधिकारसहितको सङ्घीयताप्राप्तिको आन्दोलनलाई थप उचाइमा पु¥याउन पनि राष्ट्रिय जनता पार्टीलगायत सबै आन्दोलनरत दल निर्वाचनमा सहभागी हुनैपर्ने दुई पार्टीको वक्तव्यमा उल्लेख छ ।

दुई दलले मुद्दा मिल्ने अन्य राजनीतिक दलसँग तालमेल गरी निर्वाचनमा जानेसमेत दुई दलको वक्तव्यमा उल्लेख छ । रासस



प्रतिक्रिया दिनुहोस्