Logo

अब निर्वाचन सारौं भन्ने कुरै नगरौं : डा. शेखर कोइराला



shekhar

सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रिय सदस्य डा. शेखर कोइरालासँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :

अब निर्वाचन हुन्छ ?
विकल्प नै छैन् ।

उसो भए असार १४ गते निर्वाचन हुन्छ ?

हुन्छ । सम्भव छ । सरकारले निर्वाचन गर्छ ।

निर्वाचन सार्नुपर्छ भनेर कुरा आएको छ नि ? 

अब निर्वाचन कुनैपनि हालतमा सार्नु हुँदैन। मोर्चाका माग सम्बोधन गर्नको लागि सरकारले ऐन तथा नियम बनाएको छ । ऐन संशोधन गरेर पास गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाजीले संसदमै दोस्रो चरणको निर्वाचनपछि संशोधन गर्ने भन्नुभएको छ। मोर्चाले विश्वास गर्नुपथ्र्यो नि । जनसंख्याको आधारमा थपेको स्थानीय तहको संख्या अदालतले रोकेको छ ।

मधेशी मोर्चाले त तपाईहरुमाथि न्यूनतम माग पनि पुरा नगरेको आरोप लगाएको छ ?

सरकारले उहाँहरुका नेता तथा कार्यकर्ताहरुमाथि लगाएको मुद्दा फिर्ताको काम भैरहेको छ । तर मोर्चाको माग भनेको यो होईन । मुख्य माग भनेको स्थानीय तहको संख्या थप्ने र संविधान संशोधन गर्ने हो ।

अहिले कांग्रेस सभापति प्रधानमन्त्री हुनुहुन्छ, तपाई नेता हुनुहुन्छ, प्रधानमन्त्रीलाई न्यूनतम माग पुरा गर्नुपर्छ भनेर भन्नु भएन ?

हामीले भनेका छौ । ति मागहरू पुरा हुँदैछन् । केही बाध्यता सरकारसामु पनि छ । तर मेरो चिन्ता अर्कै छ । राजपा नेपालले निर्वाचनमा भाग नलिएपनि चुनाव हुन्छ । तर कालान्तरसम्म यो एउटा समस्या हुन्छ । एउटा खाडल खडा हुन्छ । यो कुरा गम्भिर छ । संख्या थपेर हुन्छ कि के गरेर हुन्छ गर्दा हुन्छ । सरकारले अदालतलाई अर्को निवेदन दिएको छ । त्यो पनि हेरौँ। समयमा निर्वाचन हुनुपर्छ ।

सरकारले गम्भिरता देखाएन भनेको छ नि ?

त्यो सरकारसँग सोध्ने प्रश्न होला तर म काँग्रेसको एउटा सदस्य भएको हैसियतमा भन्छु, सरकारले किन गरेन भन्न मिल्दैन । सरकार निर्माण भएका तीन दिनभित्र यत्रो काम भएको छ। ऐन नियम पास गराएको छ। उहाँहरु त दिनभरात्रा लागि राख्नुभएको छ । सरकारले अदालतलाई निवेदन दिएको छ । पुर्नविचारको लागि । अब त्यो सरकारको पक्षमा आएको खण्डमा पनि निर्वाचन आयोगले गर्न सक्छ कि सक्दैन। त्यो कुरा हो । सरकारले बोलेका कुराको विश्वास गर्नुपर्यो नि ? हामीलाई राजपासँग प्रधानमन्त्रीले कुरा गर्नुभयो त्यो हामीलाई थाहा छैन् ।

मोर्चाले आन्दोलन घोषणा गरेको छ ?

जे गर्नुभएको छ त्यो आन्दोलन समस्याको समाधान होईन । बरु अदालतले बाटो खोलेको सन्दर्भमा निर्वाचन आयोगले तोकेको मितिमा निर्वाचन गराउन सक्छ कि सक्दैन ? त्यतातिर ध्यान दिनुपर्छ । सरकारले भ्याकेट गरेको छ । त्यो राम्रो हो । २२ वटा थपेको स्थानीय तहको निर्वाचन आयोगले असार १४ मा गर्न सक्छ कि सक्दैन ? त्यो मुख्य कुरा हुनेछ ।

दुई नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन गर्नको लागि मोर्चाले माग गरेको छ नि ?

हो, यही हो । सबैभन्दा खतरानाक कुरा । सरकार र मोर्चाबीचको बैठकमा जुन माग आयो त्यो मुलुकको लागि राम्रो हुने देखिदैन। विजय गच्छदारजीले बिराटनगरमा पुगेर करिब यही भाषा बोल्नुभएको छ । उसो भए मधेशलाई अलग बनाउन खोजेको हो ? खुम्चिँदै यो प्रदेशमा पुगेर अडिने हुन्छ ? कुनैपनि हालतमा सार्नुहुँदैन । परिस्थिति झन बिग्रिन्छ । कि सबै सार्नुपर्यो ।

उसो भए तपाईको भनाई अनुसार सबै प्रदेशको निर्वाचन सार्नुपर्छ भन्ने हो ?

होईन । मेरो बोलको भाव बुझ्नस् । कदापी पनि यो प्रक्रिया कसैको हितमा हुनेछैन् । जति बाँकी प्रदेश छन त्यहाँ हिमाल, पहाड जोडिएको छ । त्यसैले त्यहाँ मधेशका जिल्ला पर्छन् । अलग भन्ने कुरा नल्याउनुस् ।

महन्थ ठाकुरले पनि यही भन्नु भएको छ नि ? पछि गर्ने रे ?

कसले के भन्यो त्यो म जान्दिन । तर मुलुको भलाई आजको जुन कुरा आईरहेको छ । यो ठिक छैन् ।

निर्वाचन गर्न सकेन भने काँग्रेसको सरकार असफल हुन्छ नि ?

म पनि त्यही भन्दै छु । जतिसक्दो लचकता अपनाउन जरुरी छ । के थपिएका स्थानीय तहका संख्या दुई नम्बर प्रदेशमा मात्रै छन् ? मोर्चाले के भनेको हो यो ? यस्तो भन्न मिल्छ ? कही आज कही भोलि भन्ने खोजेको के ? यो कदापि हुँदैन् । मधेशलाई अलग राखेर निर्वाचन गर्नुहुँदैन। झापामा एउटा वडा परेको छ । मोरङ परेको छ । कैलाली परेको छ। कपिलवस्तु, अर्घाखाँची परेको छ। के हो यो ? यस्तो मिल्छ ? हामी कहाँ जान खोजेको ?

शेरबहादुर देउवाको सरकारले दोस्रो चरणको निर्वाचन गर्न सक्छ ?

कहाँ गराउन सक्छ मात्रै भनेको ? गराउनुहुन्छ ।

उहाँले निर्वाचन गर्नु त होला तर अर्थ कत्तिको रहन्छ ?

उहाँका माग पुरा गर्नको लागि सरकारले गरेका कामको सम्झना छैन् ?

एकदम छ, तर मोर्चाले मानेन नि ?

तपाई र मोर्चाले अरु जे सुकै होस् दुई नम्बर प्रदेशको निर्वाचन पछि गरौँ भन्नु हुन्छ ? यसले मधेश र पहाडबीचको सम्बन्ध तिक्ततामा परिणत हुन्छ कि हुँदैन ? मेरो तपाईलाई प्रश्न छ । त्यसैले सँगै गर्नुपर्छ । असार १४ मै निर्वाचन गर्नुपर्छ । निर्वाचन आयोगले गर्छु भने गराँै । निर्वाचन आयोगले सक्दैन भने नगरौँ । तर अब निर्वाचन सार्ने र अर्को चरणका कुरा नगरौ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot