Logo

हाम्रा माग पूरा नभए निर्वाचनमा जाँदैनौं : यादव



काठमाडौं, २९ जेष्ठ। राजपा नेपालका अध्यक्ष मण्डलका नेता महेन्द्रराय यादवले आफूहरुले बाध्य भएर आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको स्पष्ट पारे ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘बाध्य भएर हामीले आन्दोलन घोषणा गरेका छौं, हाम्रा माँग पूरा भएनन्, यो ११ महिनामा संविधान संशोधनको लागि सरकारले प्रयास गरेको थियो तर असफल भयो।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै यादवले राजपा नेपाललाई बाहिर राखेर चुनाव हुनै नसक्ने समेत दाबी गरे । उनले भने,‘अब उहाँहरुले नै हामीलाई चुनावमा सहभागी नगराउन चाहनुभएको छ भने अर्को कुरा, नभए हामी चुनाव विरोधी होईनौं।’ राजपा नेपाल लोकतान्त्रिक व्यवस्थाप्रति पूर्ण प्रतिबद्ध रहेको समेत उनको भनाई थियो ।

उनले संविधान संशोधन अहिले हुन नसकेपनि जनसंख्याको आधारमा स्थानीय तहको संख्या बढाउने, झुठा मुद्दा फिर्ता लिनुपर्ने, अपाङ्गता भएकाहरुलाई क्षतिपूर्ति दिनुपर्ने, सहिद घोषणा गर्नुपर्ने जस्ता माँगहरु सरकारले पूरा गर्नुपर्ने बताए । यी माँगहरु पूरा भए आफूहरु निर्वाचनमा जान तयार रहेको नेता यादवको भनाई थियो । उनले भने,‘हामी मुद्दामा आधारित पार्टी हौं।’



प्रतिक्रिया दिनुहोस्