Logo

‘दिगो विकास लक्ष्य’ हासिल गर्न समन्वय हुनुपर्नेमा जोड



काठमाडौँ, २९ जेठ । संयुक्त राष्ट्र सङ्घको आयोजनामा विश्वव्यापी रुपमा अघि सारिएका ‘दिगो विकास लक्ष्य’ हासिल गर्न सम्बन्धित निकायबीच समन्वय हुनुपर्नेमा सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन् ।

व्यवस्थापिका–संसद् वातावरण संरक्षण समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताले ‘दिगो विकास लक्ष्य’ अन्तर्गत राखिएका १७ लक्ष्य हासिल गर्न सबै सरकारी निकायले समन्वय गरी कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभयो ।

सो अवसरमा सांसद रेशमबहादुर बानियाँले विकास र वातावरणबीच तादाम्यता गरेर अघि बढेको विकास मात्र दिगो हुने बताउँदै सबै सरकारी निकायबीचको समन्वयले मात्र दिगो विकासका लक्ष्य हासिल गर्न सहज र प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो ।

सन् २०१५ सेप्टेम्बरमा भएको संयुक्त राष्ट्र सङ्घको महासभामा १९३ देशको उपस्थितिमा दिगो विकास लक्ष्य जारी भएको हो । जसमा कूल १७ लक्ष्य, १६९ गन्तव्य र ९ वटा दोहोरिएकासहित २३९ सूचकहरु रहेका छन् ।

सांसद राजाराम स्याङतानले दिगो विकासका लक्ष्य हासिल गर्ने सम्बन्धमा मुलुकभर समितिले गरेका कार्यक्रमका बारेमा जानकारी गराउँदै सम्बद्ध निकायबाट प्राप्त सुझावले सरकारलाई यससम्बन्धी नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

दिगो विकास लक्ष्य हासिल गर्न सरकारीस्तरबाट प्रधानमन्त्री एवम् राष्ट्रिय योजना आयोेगका अध्यक्षको संयोजकत्वमा दिगो विकाससम्बन्धी केन्द्रीय निर्देशक समिति गठन गरिएको छ भने योजना आायोगका सदस्यको अध्यक्षतामा आर्थिक, सामाजिक, उद्योग, सहरी विकास, पूर्वाधार, श्रम तथा रोजगार, ऊर्जा, कृषि, जलवायु परिवर्तन र वातावरण, शासकीय सुधार गरी नौ विषयगत समिति गठन गरिएका छन् ।

वातावरण समितिका सचिव सुरजकुमार दुराले दिगो विकासका लक्ष्य एक अर्कासँग आबद्धित भएकाले एउटा लक्ष्य हासिल हुन नसक्दा अरु लक्ष्यलाई पनि असर पर्ने हुदाँ सम्बन्धित निकाय समन्वात्मक रुपमा अघि बढ्नुपर्ने बताउनुभयो । दिगो विकासका लक्ष्य हासिल गर्न सम्पूर्ण विश्व, जनता, समृद्धि, शान्ति र साझेदारी विषय समेटिएका छन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक डा नारायणराज पौडेलले सहश्राब्दी विकास लक्ष्यको प्रगति र दिगो विकासका लक्ष्य कार्यान्वयनमा नेपालले गरेका प्रयास, उपलब्धि, समस्या र चुनौतीका बिषयमा प्रकाश पार्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot