Logo

आर्थिक समृद्धि र विकासमा जुट्न आग्रह : मुख्य सचिव डा सुवेदी



पोखरा, ३० जेठ । मुख्य सचिव डा सोमलाल सुवेदीले आपूm निर्वाचित भएका स्थानीय तहको आर्थिक समृद्धि र विकासमा जुट्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

प्रदेश नं ४ का निर्वाचित प्रमुख, उप–प्रमुख, अध्यक्ष तथा उपाध्यक्षको आजदेखि पोखरामा सुरु भएको स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरणको शुभारम्भ गर्दै उहाँले अब भाषण गरेर होइन, प्रतिफल आउने गरी काम गर्नुपर्ने बेला आएको छ भन्नुभयो ।

मुख्य सचिव डा सुवेदीले काम गर्ने तौरतरिकालाई फरक ढङ्गले सोच्नुपर्ने बताउँदै कानुनले दिएको अधिकारभित्र रही जिम्मेवार र जवाफदेही भएर नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो क्षमता र कार्यकुशलता प्रदर्शन गर्ने बेला आएको धारणा व्यक्त गर्नुभयो ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै देशले भोग्दै आएको सङ्क्रमणकाल पनि छोटिँदै जानेमा आफू विश्वस्त रहेको चर्चा गर्दै उहाँले सीमित स्रोतसाधनको परिचालनबाट जनतालाई धेरै फाइदा दिने खालका विकास योजना अगाडि बढाउन आग्रह गर्नुभयो ।

महालेखा परीक्षक टङ्कमणि शर्माले निर्वाचित जनप्रतिनिधिले सुशासनको अनुभूति दिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा यस प्रदेश अन्तर्गतका एक महानगर, २६ नगरपालिका र ५८ गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी १७० जनाको सहभागिता छन् ।

अभिमुखीकरण कार्यक्रममा सहभागी जनप्रतिनिधिलाई चार समूहमा विभाजन गरी प्रशिक्षण दिइरहेको छ । समूह एकलाई होटल बाराही, समूह दुईलाई टुकी रिसोर्ट, समूह तीनलाई होटल ल्यान्डमार्क र समूह चारलाई होटल द यात्रामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव गुरुप्रसाद सुवेदीले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot