Logo

जुँगू हत्या प्रकरणका पीडित भन्छन् :न्याय नपाए सामूहिक रुपमा आत्मदाह गर्न बाध्य हुन्छौँ



 

काठमाडौँ, ३० जेठ । स्थानीय तहको पहिलो निर्वाचनका बेलामा दोलखाको जुँगूमा हत्या गरिएका कुलबहादुर तामाङका परिवार न्यायको खोजी गर्दै काठमाडौँ आइपुगेका छन् ।

कुलबहादुरको हत्यामा संलग्न अभियुक्त साधारण तारेकमा रिहा भएपछि पीडित परिवार न्यायको खोजी गर्दै राजधानी काठमाडौँ आइपुगेका हुन् ।

पीडित परिवारले रिपोर्टर्स क्लबमा आज आयोजना गरेको पत्रकारसम्मेलनमा मृतक तामाङकी पत्नी साङमाया तामाङले जिल्ला अदालतले हत्यामा संलग्नलाई रिहा गरेपछि आफूहरु न्यायको खोजी गर्दै बाध्य भएर काठमाडौँ आउनु परेको बताउनुभयो ।

“न्याय नपाए सामूहिक रुपमा आत्मदाह गर्न बाध्य हुन्छौँ, घर छैन, छोरा अशोक र छोरी सङ्गीता पठाउन पाएको छैन, म के भनेर बाँच्ने ?”, गहभरि आँसु पार्दैै न्याय नपाए बाँच्ने कुनै आधार नभएको साङमायाले सुनाउनुभयो ।

मृतक तामाङका बुबा गोरे तामाङले माओवादी नेता देवी खडका, विशाल खड्काकै निर्देशनमा आफनो छोराको हत्या हुन्छ भनेर आफूहरुले कहिल्यै नसोचेको दुखेसो गर्नुभयो । “गरिब तामाङ परिवारलाई हेपेर जिल्ला अदालत दोखलाले न्याय दिएन, हत्यामा संलग्नहरुले धम्की दिँदै आएपछि गाउँ बस्न सक्ने अवस्था छैन”, तामाङले गुनासो गर्नुभयो ।

पीडित परिवारले हत्यामा संलग्न रहेको आरोपमा माओवादी केन्द्रका नेता देवी खड्का, विशाल खड्कासहित ३९ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । तर जाहेरी दिएपछि पक्राउ परेका नौ जनालाई समेत जिल्ला अदालत दोलखाले साधारण तारेकमा रिहा गरेपछि पीडित पक्ष न्यायको खोजीमा भौँतारिएका हुन् ।

कुलबहादुर तामाङ आफ्ना बुबा गोरे तामाङ गौरीशङ्कर गाउँपालिका–१ मा एमालेबाट वडा सदस्यको उम्मेदवार भएपछि निर्वाचन अभियानमा जुटेका थिए । सोही घटनामा परी गम्भीर घाइते दिलबहादुर बुढाथोकीको उपचार भइरहेको छ । सरकारले हत्या गरिएका कुलबहादुर तामाङलाई सहिद घोषणा गरेको छ भने पीडित परिवारलाई रु १० लाख क्षतिपूर्ति दिने घोषणा पनि गरेको छ । यता, घटनाको छानबिनका लागि संसदीय समितिसमेत गठन गरिएको छ । पीडित परिवारले न्यायका लागि राष्ट्रिय मानव अधिकार आयोगनमा समेत उजुरी दिएका छन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot