Logo

उपेन्द्र यादवको मानसिक सन्तुलन ठिक नभएको राजेन्द्र महतोको आरोप



पर्सा, ३१ जेष्ठ । राजपा नेपालका शीर्ष नेता राजेन्द्र महत्तोले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको मानसिक सन्तुलन बिग्रिएको आरोप लगाएका छन् ।

बुधबार पर्साको बिरगन्जमा आन्दोलनकारीमाझ पत्रकारहरुसँग कुरा गर्दै नेता महतोले यस्तो आरोप लागएका हुन् । उनले मानसिक सन्तुलन बिग्रिएकै कारण उपेन्द्र यादव मधेस आन्दोलनका बारेमा अनावश्यक बोल्दै हिँडेको जिकिर गरे ।

एक पत्रकारले उपेन्द्र यादवले अहिले राजपाको जारी आन्दोलन सीमापारी भारतबाट आएकाले गरेको भन्दैछन् नि भनेर सोधेको प्रश्नमा उनले यादवप्रति आक्रोश पोख्दै भने,‘उपेन्द्रजीको मानसिक अवस्था ठिक छ जस्तो लाग्दैन किनकी मानसिक अवस्था ठिक भएका नेताले त्यस्तो बोल्दै बोल्दैनन्। उहाँको मानसिक अवस्था बिग्रिएकाले बर्बाउदै हिडनु भएको छ ।’

राजपा नेता महत्तोले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई केपी ओलीको नयाँ अवतारको संज्ञा समेत दिए । संविधान संशोधन नभएसम्म कुनैपनि निर्वाचनमा भाग नलिने उनको भनाई थियो ।

उनले सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल आफूहरुको माँगप्रति सधैं उदासिन रहेको समेत आरोप लगाए । उनले तीन ठूला दलहरुले मिलेर जारी गरेको संविधान त्रुटिपूर्ण रहेकोले अब तीन दल नै मिलेर गल्ती सच्याउनुपर्ने धारणा राखे । संविधान संशोधन नभएसम्म आन्दोलन नरोकिने उनको दाबी थियो ।



प्रतिक्रिया दिनुहोस्